News 24 Television
महंगो महत्वकांक्षा, लथालिंग गौरवका आयोजना 

काठमाडौँ । गौरवका आयोजनाका नाममा सरकरले वर्षेनी करोडौं रुपैयाँ बजेट स्वाह गर्छ । तर, न गौरवका आयोजना भनिएका आयोजनाहरु समयमै निर्माण हुन्छन्, न त निर्माण सम्पन्न पश्चात सामान्य रुपमा सञ्चालनमा नै आउछन् । आवश्यकता भन्दा पनि महत्वकांक्षाका आधारमा आयोजनाहरुको छनोट र निर्माण हुने हुँदा यस्तो अवस्था आइरहेको हो । जसको प्रत्यक्ष असर अन्य साना विकाशे आयोजनाहरुमा परिरहेको छ । 

राष्ट्रिय गौरवका आयोजनामध्ये अहिले निर्माणाधिन अवस्थामा दर्जनौं आयोजना छन् । तर, यस्ता आयोजनाको वार्षिक प्रगतिको अवस्था हेर्ने हो भने तोकिएको भन्दा औषतमा ५० प्रतिशतभन्दा न्यून छ । 

गौरवका आयोजनाको इतिहास र वर्तमान अवस्था

– आर्थिक वर्ष २०६८/६९ देखि १७ उच्च प्राथमिकताका आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा 
– आर्थिक वर्ष २०७०/७१ र २०७७/७८ मा केही आयोजना थप गरि हाल २४ आयोजना राष्ट्रिय गौरवका आयोजनाको सूचिमा 
– गौरवका आयोजनाको सूचिमा रहेका २४ मध्ये हालसम्म जम्मा ३ आयोजना मात्रै सम्पन्न 
– सम्पन्न भएका ३ मध्ये २ आयोजना हुन्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल 

तर, ती दुई गौरवका आयोजना अहिलेसम्म पनि व्यवसायीक रुपमा पूर्ण सञ्चालनमा ल्याइएको छैन । यि अन्तर्राष्ट्रिय विमानस्थल बन्ने समयदेखि नै यि क्षेत्रहरुमा व्यवसायीहरुले पनि करोडौंको लगानी गर्दै अन्य बजार एवम् व्यापारका लागि पूर्वाधार तयार गरेका थिए । तर, विमानस्थल व्यवसायीरुपमा निरन्तर सञ्चालनमा नआउँदा राज्यको अर्बौं रुपैयाँ स्वाह भएको मात्रै छैन, निजी क्षेत्रको लगानी पनि वालुवामा पनी जस्तै बनिरहेको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्येकै पश्चिम सेती जलविद्युत आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी जलविद्युत आयोजना अझै शुरु हुने छाँटकाँट छैन । निर्माणको अन्तिम चरणमा पुगेका भनिएका मेलम्ची खानेपानी आयोजना, लुम्बिनी क्षेत्र विकाश कोष, कालिगण्डकी करीडोर र बबई सिंचाई आयोजना पनि सन्तोष जनक स्थितीमा छैनन् । निर्माणकै चरणमा रहेको कर्णाली करीरोडको खुलालु सली सल्ला खण्ड समस्यामा छ । 

यसबाहेक अमेरीकी सहयोगी परियोजना एमसिसिको लगानीमा विद्युत ट्र«न्मिसन लाईन निर्माण गरिने भनिएको एमसीए विद्युत प्रशारण लाईन जम्मा ५ प्रतिशत मात्रै निर्माण गरीएको छ । निर्माणाधीन रहेका अन्य  आयोजनाहरुको बार्षिक प्रगति हेर्दा ५० प्रतिशत पनि छैन । यस्तो हुनुमा सरकारका नेतृत्वकर्ताले समयमा नै निर्णय लिन नसक्नु नै मुख्य कारण रहेको विज्ञहरुको बुझाई छ । 

यता, ठुला आयोजना निर्माण गर्ने नाममा मझौला खालका आयोजना निर्माण गर्न नसक्दा निर्माण व्यवसायी समस्यामा देखिन्छन् । नेपालले नै सञ्चालन गर्न सक्ने आयोजनाहरु पनि विदेशी दाताको मुख हेर्ने हाम्रो प्रचलन रहेको छ । यो पनि मुल समस्या बनिरहेको छ । 

राष्ट्रिय गौरवका आयोजनाहरू लामो समयसम्म कार्यान्वयनको चरणमा प्रवेश गर्न नसक्दा वा कार्यान्वयनको गति सुस्त हुँदा आयोजना लागत तीन गुणासम्म बढ्न पुगेको छ । यसले राष्ट्रिय गौरवका आयोजना भनिए पनि कार्यान्वयन राष्ट्रिय गौरव गर्न लायक नभएको स्वतः सिद्ध हुन्छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update