काठमाडौं । जेनजी आन्दोलनपछि देशभर उभिएको नयाँ लहरलाई संस्थागत गर्न भन्दै भएका लामो छलफल र तयारी अन्ततः भत्किएको छ ।
अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङ, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’, युवा अभियन्ता सुदन गुरुङबीच नयाँ राजनीतिक दल गठन गर्नेबारे भएको बहस अब विभाजनमा पुगेको छ । तर, त्यसको राजनीतिक लाभ भने अन्ततः पुरानै दलहरूले उठाउने देखिएको छ ।
पछिल्ला केही घटनाक्रमले विस्तारै पुराना दलहरुलाई फाइदाको ग्राफमा अघि बढाएको छ । जेनजीहरु र जेनजीका नाममा सेन्टिमेन्ट लिन कस्सिएकाहरु तितरवितर हुनेक्रम बढेपछि यसको लाभ पुराना राजनीतिक दलहरुलाई मिलिरहेको छ ।
यहाँ मुल सन्दर्भ अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङ, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’, युवा अभियन्ता सुदन गुरुङबीच नयाँ राजनीतिक दल गठन गर्नेबारे भएको लामो बहस तर, अन्ततः उनीहरु एक हुनै नसकेर विभाजनमा पुगेको विषय हो ।
केही हप्ता देखि पार्टीको नाम, संरचना, नेतृत्व र चुनाव चिन्हबारे साझा सहमति खोज्ने प्रयास भइरहेका थिए । तर, सहमतिको अन्तिम चरणमै अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङले आफ्नै पहलमा निर्वाचन आयोगमा दल दर्ता गराएपछि उक्त प्रक्रिया टुट्यो । पार्टीका पदाधिकारीले मंगलबार आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखामा निवेदन दिएका हुन् । पार्टीको चुनाव चिन्ह बलेको चिम राखिएको छ ।
पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा गठन गरिएको पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । आगामी चुनावमा कुलमानले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको बताइन्छ । सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन् । घिसिङको यो कदमलाई अन्य सहकार्यकर्ता नेताहरूले धोकाको रूपमा लिएका छन् ।
सुमना–बालेन समूह ‘राष्ट्रिय जनसेवा पार्टी’ तर्फ
घिसिङको एकल निर्णयपछि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, मेयर बालेन्द्र शाह र युवा अभियन्ता सुदन गुरुङ–सागर ढकाल निकट समूहले छुट्टै राजनीतिक प्लेटफर्म निर्माण गर्ने तयारी थालेका छन् ।
अहिले ‘राष्ट्रिय जनसेवा पार्टी (राजपा)’ नाममा नयाँ दल दर्ता गर्ने तयारी भइरहेको बताइन्छ । यस समूहले ‘जेनजी आन्दोलन’का सहिद, अभियन्ता, स्वतन्त्र उम्मेदवार र असन्तुष्ट युवाहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्य लिएको छ ।
यो समूहले हाल ‘हाम्रो नेपाली पार्टी’ नाममा दर्ता रहेको ‘लौरो’ चुनाव चिन्हलाई आफ्नो नयाँ दलको चिन्हका रूपमा प्रस्ताव गर्ने तयारी गरेको छ ।
रास्वपा भित्रको असन्तुष्टि पनि नयाँ गठबन्धनमा जोडिँदै
हाल ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)’ भित्र देखिएको आन्तरिक असन्तुष्टि पनि सुमना–बालेन गठबन्धनतर्फ सर्दै गएको छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की, रास्वपाका केन्द्रिय सदस्य गणेश कार्की र पुकार बमलगायत नेताहरू सुमना–बालेन पक्षसँग नियमित सम्पर्कमा रहेको पुष्टि भएको छ ।
पपुलर अनुहारहरू कुलमान, बालने, हर्क सम्पाङ, गोपी हमाल, विवेकशिल साचलगायत अहिले जेनजी अभियन्ताहरू पनि रास्वपामा सहभागी भएर राष्ट्रिय शक्ति निर्माणको तयारी पनि गरिएको थियो । तर, साम्पाङले श्रम संस्कृति पार्टी खोलेर क्षेत्रिय शक्ति निर्माण गरिसकेको छन् ।
अर्कोतर्फ रास्वपा नेतृ कार्कीले पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय भएको भन्दै केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्ताव पेश गरेकाी थिइन् ।
रास्वपाभित्र जनताको अपेक्षा पूरा गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको आभास भएपछि कार्की लगायतका रास्वपाका नेताहरू नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ आकर्षित भएका छन् ।
जेनजी आन्दोलनमा उठेका पारदर्शिता, जनउत्तरदायित्व र नयाँ पुस्ताको सहभागिताको मुद्दालाई संस्थागत रूप दिने भन्दै च्याउसरी दर्ता गरिएका पार्टीले राजनीतिक निकास दिने भन्दा जातिय द्धन्द्धको संकेत गरिरेहको विश्लेषण भैरहेको छ ।
हर्कको काउण्टर
हर्क साङपाङले ‘श्रम संस्कृति पार्टी’ दर्ता गरी नयाँ राजनीतिक सक्रियता सुरु गरेका छन्। उनले सबैलाई आफ्नो पार्टीमा सामेल हुन आग्रह गर्दै प्रदेश–प्रदेशमा संगठन विस्तारलाई तीव्र बनाइरहेका छन्।
अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले नयाँ दल दर्ता गरेको खबर बाहिरिएपछि हर्कले व्यंग्यात्मक रूपमा ‘मन्त्रालय सम्हाल्नुस्, सरकार ढल्छ, पछि श्रम संस्कृतिमा स्वागत गर्छौं’ भन्दै टिप्पणी गरेका छन्।
कुलमान र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीच सहकार्य टुटेपछि हर्कले ‘गफ गरेर देश बनाउँछु भन्नु भ्रम मात्रै हो’ भन्दै सुमनालाई लक्षित टिप्पणी गरेका छन् ।
‘वान म्यान’ बन्ने कुलमानको सोच !
कुलमान भने सुरुदेखि नै ‘उज्यालो नेपाल पार्टी’ नाममा दृढ थिए । उनले लोडसेडिङ अन्त्य गरेर ‘उज्यालो नेपाल’ ब्रान्ड निर्माण गरेको अनुभवलाई जोड्दै सो नाम राख्नुपर्ने तर्क अघि सारेका थिए । तर सुमना श्रेष्ठले उक्त नामलाई व्यक्तिकेन्द्रित र प्रचारमुखी भन्दै आपत्ति जनाउँदै फरक नाम प्रस्ताव गरेकी थिइन् ।
उनले ‘उज्यालो नेपाल’ नामले सामूहिक भावना नदिएको र वैकल्पिक राजनीतिक सोचसँग मेल नखाने भन्दै नयाँ र साझा नाम खोज्नुपर्ने धारणा राखेकी थिइन् । त्यस्तै, कुलमानले प्रस्ताव गरेको ‘बिजुलीको चिम’ चुनाव चिन्हबारे पनि सुमनाको असहमति थियो ।
संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय जो कुलमानका साथी हुन्, उनलाई अघि सार्ने पछि चिढिएको सुमना पक्षले कुलमानलाई मन्त्री पदबाट राजीनामा दिएर संगठन निर्माणमा पूर्ण समय दिनुपर्ने माग राखेको थियो । तर ती माग पूरा नहुँदा दुबैबीचको सहकार्यमा ब्रेक लागेको हो । तर, यी छुट्टिएका सबै नेताहरूको सामूहिक लोकप्रियता र वैकल्पिक सोचले भविष्यमा कुनै न कुनै रूपमा फेरि सहकार्यको बाटो खोल्न सक्छ । तर, सबै नयाँ दलहरूले दाबी गरे जस्तो कुनै एक दलले बहुमत प्राप्त गर्ने सम्भावना छैन । जनमत बाढिदा निर्वाचनपछि सरकार निर्माणको प्रक्रिया थप भद्रगोल बन्ने छ ।
जेनजी आन्दोलनबाट उत्पन्न नयाँ पुस्ताका नेताहरूबीच सहकार्यको सम्भावना टुटे पनि वैकल्पिक राजनीति निर्माणको बहस अझ जीवित छ । नयाँ, स्वतन्त्र, वैकल्पिक र जेनजी आन्दोलनबाट उदाएका भनिएका समूहहरू एकीकृत ध्रुव बन्न नसक्दा त्यसको राजनीतिक लाभ भने अन्ततः पुरानै दलहरूले उठाउने देखिएको छ ।
