काठमाडौँ । जेनजी आन्दोलन पछि विकसित राजनीतिक घटनाक्रमले सुमना श्रेष्ठ, कुलमान घिसिङ्ग, बालेन्द्र शाह (बालेन), सुदन गुरुङ, सागर ढकाल लगायतका व्यक्तिहरु एक ठाउ आएर बृहत राजनीतिक शक्ति निर्माण गर्लान भन्ने अपेक्षा सबैको थियो। जसका लागि जेन जी का अगुवा, सिनेकर्मीहरु देखि सबैजना आ-आफ्नो तवरबाट लागिरहेको समाचारहरु आइरहेका थिए। प्रत्यक्ष राजनीतिमा न आए तापनि नया बन्ने समिकरणमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको समेत समर्थन रहने जानकारी थियो।
कुलमान घिसिङ्गले नया दल दर्ताका लागि आफूखुसी अगाडी बढेपछि उनको कार्यशैली प्रति असन्तोष जनाउदै पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समुह नजिक हुँदै गएको संकेत देखिएको छ। स्रोतका अनुसार उनीहरूबीच देशभरि फैलिएका असन्तुष्ट युवा, स्वतन्त्र उम्मेदवार र सामाजिक अभियन्ताहरूलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास तीव्र बनेको छ। पछिल्लो राजनीतिक घटनाक्रममा सुमना र बालेनसँगै ‘जेन जी आन्दोलन’का अगुवा सुदन गुरुङ र सागर ढकाल पनि सक्रिय भइरहेका छन् । साथै, डा. तोसिमा कार्की र रास्वपाका असन्तुष्ट युवा समूह पनि सो गठबन्धनमा जोडिन सक्ने उच्च सम्भावना देखिएको छ।
“राष्ट्रिय जनसेवा पार्टी - (राजपा)” को नाममा पार्टी दर्ता गर्न श्रेष्ठ समुह, बालेन समुह र गुरुङ समूह सहमत भैसकेको छन्। हाम्रो नेपाली पार्टीको नाममा दर्ता रहेको लौरो चुनाव चिन्ह लाइ नया पार्टीको चुनाव चिन्ह बनाउन यो समुह सक्रिय छ। मंगलबार अपराहन्न सम्म सबै पक्ष लाइ एक स्थानमा ल्याएर दल दर्ताका लागि अगाडी बढ्ने तयारी रहेको स्रोत बताउदछ। ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)’ भित्र हाल उत्पन्न असन्तुष्टि पनि यो नयाँ राजनीतिक प्रक्रियासँग जोडिँदै गएको छ। पुर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की, रास्वपा केन्द्रिय सदस्य गणेश कार्की, पुकार बम लगायतका नेताहरु समेत हाल सुमना–बालेन समूहसँग नियमित सम्पर्कमा रहेको स्रोतले पुष्टि गरेको छ।
