News 24 Television
पार्टीभित्र उथलपुथल, रास्वपा र रवि संकटमा ! पुराना नेता भौतारिदै

काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलको मात्रै बाढी आएको छैन्, पुराना नेताहरुको मिलनदेखि मुख्य जिम्मेवारी सम्हालेपछि मौनतापूर्वक अर्को पार्टी निर्माण गर्ने कसरत समेत बढ्न थालेको छ । यो प्रक्रियाबाट माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावित बन्ने देखिएका छन्, भने नयाँ राजनीतिक ध्रुविकरणको प्रयास समेत शुरु भएको छ । नेकपा माओवादी केन्द्रले नेपाली समाजवादी पार्टी निर्माण गर्ने गरि प्रक्रियामा गएपछि उपमहासचिव समेत रहेका जनार्दन शर्माले पार्टी छाडे ।

 उनले पार्टी छाडेपछि कहिले कोसंग त कहिले कोसंगको सम्वादलाई अघि बढाइरहेकै बेला अन्ततः डा. बाबुराम भट्टराईसहित राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयबाट जिम्मेवारी छाडेका सन्तोष परियारसंगको सहकार्यमा पुग्ने सहमति जुटेको छ । 

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशिल अभियान, र सन्तोष परियारबीच मंसिर ७ गते एकीकरण गर्ने सहमति जुटेको छ । यसमा तीन नेताहरुले हस्ताक्षर गरेको एउटा वक्तव्यमा यस्तो भनिएको छ । 

 १. विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलनदेखि पछिल्लो जेन–जी आन्दोलनसम्मका महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
 
२. एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति जनाउदछौँ ।

३. मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।

४. देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई वृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।

५. भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।

यी विषयमा अन्य विषयमा खास प्राथमिकता नदेखिएपनि ३ नम्बर बुँदामा एकता घोषणा गर्न सहमत भएका छौं भन्ने विषयले भने नयाँ पार्टीको जन्म हुने र यसमा डा. बाबुराम भट्टराईदेखि सन्तोष परियारसम्म समावेश हुने पक्का जस्तै देखिन पुगेको छ । 

माओवादी केन्द्र छाडेका नेताहरु के गर्दैछन् ?

माओवादी केन्द्र छाडेका नेताहरु यतिबेला जनार्दन शर्माको नेतृत्वमा गोलबन्द भइरहेका छन् । सुदन किरातिदेखि ओम शर्मासम्मका नेताहरु जनार्दन शर्माको टिममा रहेर काम गरिरहेको बेला यो समूहले नयाँ राजनीतिक अभ्यास गर्ने पहल गर्दै जेनजी समूहका युवाहरुलाई समेत समेट्ने प्रयास ग¥यो । तर, यो सम्भव नदेखिएपछि बाबुराम भट्टराईसहितको नयाँ पार्टी गठनको तयारी अघि बढेको छ । 

माओवादीबाट नेपाली कम्युनिस्ट पार्टीमा नगएकाहरु जनार्दन शर्मालाई नै नेतृत्व मानेर अघि बढिरहेका छन् । तर, जनार्दनले आफूलाई नेतृत्वमा भने राखिरहेका छैनन् । 

रास्वपामा पनि पहिरो

राष्ट्रिय स्वतन्त्र पार्टीमा सुमना श्रेष्ठले पार्टी छाडेपछि उनले के गर्लिन भन्ने चासो थियो । अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालयलाई सघाउने दाबी गर्दै आएकी सुमनाले कुलमान घिसिङसहित बालेन्द्र शाहलाई समेटेर पार्टी निर्माणको प्रयास गरिन् । तर, त्यो सम्भव नभएपछि उनी अहिले पर्ख र हेरको अवस्थामा छिन् । 

यस्तै, सुमनापछि रास्वपा प्रतिनिधिसभाको प्रमुख सचेतक बनिसकेका सन्तोष परियारले पनि पार्टी छाडे । उनले पार्टी छाडेको घोषणा गरेकै दिन बाबुराम भट्रराईसहित जनार्दन शर्मासंग मिलेर पार्टी घोषणा गर्ने भएका छन् । 

यो समूह मिलेर मंसिर ७ गरे एकता घोषणा नै गर्ने भनेको छ । यसरी हेर्दा, जेनजी आन्दोलनपछि राजनीतिक दलको संख्या बढेको मात्रै होइनकि पुराना नेताहरुको मिलनदेखि मुख्य जिम्मेवारी सम्हालेपछि मौनतापूर्वक अर्को पार्टी निर्माण गर्ने कसरत गर्ने नेताहरु पनि बढ्न थालेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update