काठमाडौं । मातृभूमि अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । राजनीतिक उतारचढावकाबीच रावल नेकपामा समाहित भएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीमा समूह र घटकको संख्या बढिरहेपनि नेताहरुले एमाले अध्यक्ष केपी ओलीमाथि आक्रोश पोखिरहेका छन् । के भीम रावलको आगमनले नेकपामा नयाँ अध्याय शुरु होला ?
नेकपा माओवादी केन्द्रबाट पार्टी एकतामार्फत नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्ड उथलपुथलका प्रमुख कारक मानिन्छन् । केहि न केहि नयाँ गरिरहने प्रचण्डले पार्टी एकता गर्दै गर्दा उनका पुराना सहकर्मीहरुले साथ छाड्नेक्रम रोकिएको छैन्’ ।
प्रचण्डसंगै जनयुद्ध लडेका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट जस्ता नेताहरुले तत्कालीन नेकपाकालमै एमाले रोजेपनि अहिलेको एकतामा समेत जनार्दन शर्मा, सुदन किराती जस्ता नेताहरुले साथ छाडेका छन् ।
यसरी आफ्नो साथ छाड्नेहरुलाई छाड्दै नयाँ–नयाँ अनुहार र एकताका माध्यमबाट उनले नेताहरुलाई जोड्ने काम भने गरिरहेका छन् । तर, यसको प्रभाव कस्तो होला ? यो चासो र प्रश्न समेत उत्तिकै छ ।
नेपाली कम्युनिस्ट पार्टीमा भीम रावलले मातृभूमि अभियानलाई समाहित गराएका छन् । समाहित हुने कार्यक्रममा नेता रावलले एकताले देश जोगाउने, विदेशीलाई आउन रोक्ने दाबी गरे । उनले अहिलेकै अवस्था रहे नेपाली जनताले क्षेप्यास्त्र खानुपर्ने दिन धेरै नभएको भन्दै सबै सच्चिनु पर्नेमा जोड दिए ।
नेता रावलले यतिमै रोकिएनन्, उनले पार्टी एकताको सन्दर्भ जोड्दै एमाले अध्यक्ष केपी ओलीलाई समेत अनेक दोषारोपणमा समय खर्चिए ।पार्टी एकतापछि सह–संयोजक माधव नेपाल पनि हौसिएका छन् । सह–संयोजक नेपालले नेपाली कम्युनिस्ट पार्टीको एकताबाट धेरैको होस उडेको भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्षसँगै आक्रोश समेत पोखे ।
नेताहरुले पार्टी एकताको विषयलाई लिएर अनेक प्रष्टीकरण दिदै गएका छन् । संयोजक प्रचण्डले समेत देशमा घुसपैठ भएपछि एकता आवश्यकता परेको र हुनेक्रम अघि बढेको दाबी गरेका छन् ।
प्रचण्डले तत्कालीन नेकपा स्थापनाको समेत स्मरण गरे । आफू नामको अध्यक्ष भएपनि कामको अध्यक्ष हुन नपाएको दाबी गरेका प्रचण्डले राष्ट्रियसभागृहको हललाई स्मरण गर्दै अबको एकता र विषय भने धेरै अघि बढ्ने जिकिर गरे ।
प्रचण्डले तत्कालीन नेकपा स्थापना, पार्टीको कार्यकारी नेतृत्व जस्ता विषयको स्मरण गर्दै अब समानताको आधारमा जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।
भीम रावलको प्रभाव कस्तो पर्ला ?
भीम रावल सुदूरपश्चिम प्रदेशमा राम्रो प्रभाव भएको नेताको रुपमा चिनिन्छन् । आफूलाई राष्ट्रवादी दाबी गर्ने नेता रावलले पार्टीमा आउनुको कारण लामो बताएपनि उनसंग आएका नेताहरुको व्यस्थापन, पूर्वएमालेहरुले हेर्ने दृष्टीकोण र जनताको मनोभावना कसरी विकास हुन्छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्नेछ ।
भीम रावलले एमालेबाट साधारण सदस्यता समेत गुमाएपछि अभियानको घोषणा गरेका थिए । त्यसयता अभियानबाटै अघि बढिरहेका उनले नेपाली कम्युनिस्ट पार्टी रोजेपछि एमाले नेता कर्ण थापाले दुखेसो पोखेका छन् । थापाले रावलले एमाले छाड्दा पहिलो पुस्ताको नेता सुदूरपश्चिममा नभएको भन्दै मन चसक्क भएको भनेका छन् ।
लामो प्रष्टीकरण दिदै नेता थापाले दुख व्यक्त गर्दै पार्टीमा सबैलाई अटाउनुपर्नेमा समेत जोड दिएका छन् । यसरी हेर्दा नेता रावलको प्रभाव सुदूरपश्विममा पर्ने सम्भावना भने देखिन्छ । तर, उनीसंग रहेका एमाले नेताहरुले अहिलेसम्म उनको पक्ष लिन नसकेकाले के हुन्छ भन्ने विषय भने अहिले नै खुल्न सकेको छैन ।
