News 24 Television
‘विद्यालयमा नर्स’ उठ्न सकेन, दोहोरो दायित्वले अन्योलता 

काठमाडौं । विद्यालयका बालबालिकालाई अतिरिक्त क्रियाकलापका साथै मानसिक र शारीरिक स्वास्थ्यको रेखदेखका लागि भन्दै प्रत्येक विद्यालयमा नर्स राख्ने व्यवस्था ५ वर्ष अघि नै बनेको हो । 

कार्याविधि मार्फत संघीय र प्रदेश सरकारले २०७६ सालदेखि छुट्टाछुट्टै रूपमा विद्यालय नर्स कार्यक्रम शुरु त गरे तर, यसको व्यवस्थापन पाटो अस्तव्यस्त छ । 

अन्योलताका कारण  नै ३० हजार सरकारी विद्यालयमध्ये करिब १ हजार ११  विद्यालयमा मात्रै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालित छ । सरकारको कार्यक्रमबाटै हजारौं विद्यालय छुटेपछि यस समस्याको समाधान के त ? यो बहसको विषय बनेको छ । 

विद्यालयमा अध्ययनरत बालबालिकको स्वास्थ्यलाई सवल कायम राख्ने र विद्यालय छाड्ने दर कम गराउने उद्देश्यले ५ वर्ष अघि २०७६ सालमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

कार्याविधि बनाई सोही अनुसार संघीय र प्रदेश सरकारले छुट्टा छुट्टै कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भयो । 

स्वास्थ्य मन्त्रालयले २०७६ सालमा १ सय ४ विद्यालयमा नर्स समेत राख्यो । बागमती प्रदेशले १३ जिल्लाका २० विद्यालयबाट एक विद्यालय एक नर्स कार्यक्रम सुरु गर्यो । 

अन्य ६ प्रदेशले पनि विद्यालयमा नर्स राख्ने कार्यक्रमलाई प्राथमिकतामा राखे । तर कार्यक्रम सुरु भएको ५ वर्षसम्म पनि संघीय र प्रदेश सरकारबाट १ हजार ११ विद्यालयमा मात्र नर्स राखिएको छ । जब कि देशभर ३० हजारभन्दा बढी सरकारी विद्यालय छन् । 

चालु आर्थिक वर्षकै कुरा गर्दा यस वर्ष विद्यालय नर्स कार्यक्रममालागि सरकारले ९ करोड ४३ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छ । 

स्वास्थ्य सेवातर्फको ५ औँ तह अन्र्तगतको सेवा सुविधा र करारमा कर्मचारी राख्ने प्रावधानका कारण विद्यालयमा नर्स कार्यक्रमप्रति खास आकर्षण देखिएको छैन ।

पोसिलो खानेकुरा तथा स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने मानसिक  स्वास्थ्य र किशोर कोशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार गर्ने, सर्ने र नसर्ने रोगका बारेका जनचेतना फैलाउने काम विद्यालय नर्स कार्यक्रममार्फत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

त्यसो त सामान्य उपचारमा प्रयोग हुने औषधिसमेत खरिद गर्न सरकारले रकम बिनियोजन गरेको छ । तर, प्रदेश र केन्द्र सरकारबाट छुट्टा छुट्टै कार्यक्रम सञ्चालन भएका कारण अन्योलता सिर्जना भएको देखिन्छ । यद्दपी, हालसम्मको अवस्था हेर्दा विद्यालय नर्स राख्ने कार्यक्रम छात्राहरुका लागि भने प्रभावकारी भएको छ । उनिहरु महिनावारी र प्रजनन् स्वास्थ्य समस्याबारे खुल्न थालेका छन् । 

कुन वर्ष कति विद्यालयमा भयो कार्यक्रम विस्तार

– संघीय सरकारबाट २०७६ सालमा १ सय ४ विद्यालयमा नर्स कार्यक्रम सञ्चालन 

– २०७६ मै बागमती प्रदेशले १३ जिल्लाका २० विद्यालयबाट नर्स कार्यक्रम शुरु ग¥यो

– अन्य प्रदेशले पनि कार्यक्रम प्राथमिकतामा राखे

– आर्थिक वर्ष २०७७÷७८ मा एक सय विद्यालयमा नर्स राखियो 

– आव २०७८÷७९ मा हुम्ला र जाजरकोटका १८ विद्यालयमा कार्यक्रम विस्तार 

– आव २०७९÷८० मा झापाका १० विद्यालयमा कार्यक्रम विस्तार 

– आव २०८०÷८१ मा बैतडीका ५ सामुदायिक विद्यालयमा कार्यक्रम विस्तार 

बालबालिकाको स्वास्थ्य अवस्था जाँचबुझ गर्न, कसरी स्वस्थ रहने भन्ने जानकारी दिन र विद्यालयमा जंगफुड निषेध गर्न तथा महिनावारी र प्रजनन स्वास्थ्यको बारेका जानकारी दिन विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ । तर, देशभरका सामुदायिक विद्यालयमा पढ्ने ५६ लाख विद्यार्थीलाई केन्द्रित गरेर ल्याईएको विद्यालय नर्स कार्यक्रम प्रभावकारी गराउन संघदेखि प्रदेश सरकारले विशेष चासो नदिए कार्यक्रम असफल हुने जोखिम देखिन्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update