News 24 Television
लाखौँ विपन्न विद्यार्थी छात्रवृत्तिबाट वञ्चित, बजेट बर्सेनी फ्रिज

काठमाडौँ । विपन्न विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिको करोडौँ रकम बर्सेनि फ्रिज हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण बीचैमा पढाइ छाड्ने विद्यार्थीलाई सहुलियत दिन सरकारले चार वर्षदेखि रकम विनियोजन गर्दै आए पनि ५० प्रतिशत रकम पनि छात्रवृत्तिमा खर्च हुँदैन । कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विपन्न विद्यार्थीलाई वार्षिक २४ हजारसम्म रकम उपलब्ध गराउने निर्देशिका छ । तर निर्देशिकामा समस्या देखाएर फाराम भरेका लाखौँ विद्यार्थीलाई छात्रवृत्तिबाट वञ्चित गराइँदै आएको छ । 

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत २०७६ सालदेखि सञ्चालनमा आएको विपन्न विद्यार्थी लक्षित छात्रवृत्तिको रकम बर्षेनी फ्रिज हुने गरेको छ । मन्त्रालयले आर्थिक बर्ष २०७७/७८ मा ३८ करोड बजेट यस कार्यक्रमका लागि बिनियोजन गरेको थियो । त्यस बर्ष ४७ प्रतिशत अर्थात १७ करोड मात्र खर्च भयो । छात्रवृत्तिका लागि फारम भरेका ३ लाख विद्यार्थी मध्ये १७ हजार १ सय विद्यार्थीले मात्र छात्रवृत्ति पाए । आर्थिक बर्ष ७८/७९ मा विपन्न छात्रवृत्तिमा छुट्टाईएको ४७ करोड रकम फ्रिज भयो । ८६ करोड रकम विनियोजन भएको थियो । त्यस बर्ष छात्रवृत्तिका लागि ३ लाख ५० हजार विद्यार्थीले छात्रवृत्तिमा फारम भरे । तर १७ हजार विद्यार्थीले मात्रै छात्रवृत्ति पाए । बाँकी रकम शिक्षकको तलव भत्तामा खर्च गरियो । 

गत आर्थिक बर्षमा छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले ६९ करोड रकम  विनियोजन गरेको थियो । गत बर्ष फारम भरेका १ लाख ५० हजार विद्यार्थी मध्ये ५ हजारले मात्र छात्रवृत्ति पाए । यो बर्ष विपन्न छात्रवृत्ति ३५ सय १० विद्यार्थीलाई मात्र दिइएको छ । छात्रवृत्ति कस्ता विद्यार्थीलाई दिने भन्ने प्रष्ट नहुदा यस बर्ष विनियोजित रकमको १२ प्रतिशत रकम मात्र खर्च भएको छ । ६५ करोड बिनियोजन भएकोमा ८ करोड २८ लाख रुपैयाँ मात्र छात्रवृत्तिमा खर्च भएको छ । 

कक्षा ११ मा बिज्ञान विषय पढ्न चाहने विद्यार्थीले बार्षिक २४ हजार पाउँछन् । अन्य बिषय पढ्नेले १८ हजार पाउछन् । ९ देखि १० कक्षामा पढ्नेलाई ६ हजार दिने व्यवस्था छ । जसकालागि विद्यार्थीले विपन्न छात्रवृत्तिको फारम भर्नुपर्ने हुन्छ । तर कस्ता विद्यार्थीलाई छात्रवृत्ति दिने भन्ने प्रष्ट नहुदा लक्षित विद्यार्थी छात्रवृत्तिबाट बन्चित हुने गरेका छन् । 

आर्थिक रुपले विपन्न र सिमान्तकृत समुदायका वालवालिकाको विद्यालयमा पहुँच बढाउन र टिकाउन सरकारले छात्रवृत्ति दिन थालेको हो । तर लक्षित विद्यार्थीले छात्रवृत्ति नपाउँदा ठूलो संख्यामा विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् । कक्षा ९ र १० मा विद्यार्थी टिकाउ दर ६६ प्रतिशत मात्र छ । अझ एसईई उर्तिण भएका मध्ये ३३ प्रतिशत मात्र कक्षा ११ र १२ मा अध्ययन गर्छन । सरकारी अधिकारी भने लक्षित विद्यार्थीसम्म छात्रवृत्ति पुर्याउन नसक्नुमा निर्देशिकामा खोट देखाउँछन् । 

गरिव मध्ये पनि अति गरिवलाई छानेर छात्रवृत्ति दिने निर्देशिकाको लक्ष्य छ । सरकारले आगामी आर्थिक बर्षदेखि भने विपन्न विद्यार्थीलाई दिने छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने जनाएको छ । जसकालागि ५१ करोड ७३ लाख रकम माग गरिएको छ । तर कक्षा ९ देखि १२ कक्षाका विद्यार्थीलाई दिदै आईएको यस सुविधाबाट धेरै आकांक्षी बञ्चित छन् । छात्रवृत्तिमा छुट्टाईएको रकमको ५० प्रतिशत मात्र रकम फ्रिज हुने र त्यो पनि तलव भत्तामा खर्च हुनुले सरकारी संयन्त्र र नियतीमाथि प्रश्न उब्जिएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update