News 24 Television
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । तीन सय जनाभन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने उनीहरुलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । 

उनले पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्कीको माछापुच्छे« गाउँपालिकाका २२ वर्षे नविन वि.क र कास्कीकै पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्त रहेको बताए । उनले अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको बताए । 

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरुले विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी पाइएको छ । उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोलेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेका थिए । 

पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराई फेरि उक्त जम्मा हुन आएको रकम चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।


 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update