News 24 Television
विदेशी मुद्रा सञ्चितिको नयाँ रेकर्ड

काठमाडौं । करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक हुँदा देश श्रीलंका बन्ने डर थियो । नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । 

आर्थिक वर्ष ०७९÷८० मा सञ्चिति घटेर ११ खर्ब ४६ अर्ब कायम हुँदा सरकारले १० प्रकारका विलासिता वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनु परेको थियो । तर, पछिल्लो समय भने विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड बनाइरहेको छ । राष्ट्र बैंकका अनुसार करिब एक वर्षदेखि नेपालमा विदेशी मुद्राको सञ्चिति बढिरहेको छ । 

गत वर्ष असार मसान्तमा नेपालमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । जेठ मसान्तमा २७.८ प्रतिशतले वृद्धि भई  १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

गत जेठ मसान्तको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंक बाहेकका संस्थामा २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ । विदेशी मुद्रामध्ये करिब साढे २२ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको केन्द्रीय बैंकले जनाएको छ । हाल रहेको विदेशी मुद्राले १५ महिना १ दिनको वस्तु आयात गर्न पुग्छ । वस्तु तथा सेवा दुवै आयातका हिसाबले भने यो मुद्राले १२ महिना ६ दिनको आयात धान्छ ।

पछिल्लो समय रेमिट्यान्स निरन्तर बढिरहेको र पर्यटन क्षेत्र तंग्रिन थालेकाले विदेशी मुद्रा सञ्चिति बढेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार नेपालमा गत वर्षको जेठमहिनाको  तुलनामा रेमिट्यान्स आउने क्रममा १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । योसँगै नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले विदेश जाँदा लैजान पाउने डलर सटही सुविधा तथा आयातका लागि पाइने विदेशी मुद्रासम्बन्धी नियमलाई पनि केही खुकुलो बनाएको छ । 

विदेशी मुद्रा सञ्चिति उल्लेख्य बढेपछि गत साता सार्वजनिक गरिएको मौद्रिक नीतिमा नै खुकुला प्रावधानहरू राखिने घोषणा गरिएको थियो । अब नेपालीले जति पटक विदेश जाँदा पनि हरेक पल्ट २ हजार ५ सय अमेरिकी डलर साट्न पाउनेछन् । 

विदेशी मुद्रा बढ्दाका फाइदा 

–    देशको अर्थतन्त्रलाई बलियो बनाउँछ ।

–    नेपाल आयातमुखी भएकाले वैदेशिक मुद्रा धेरै शोधनान्तर स्थितिमा सुधार आउन सक्छ ।

–    उद्योगहरूले कच्चा पदार्थ ल्याउन र प्रविधि भित्र्याउन चाहेमा प्रावधानहरू खुकुलो पार्न सकिन्छ ।

–    वैदेशिक व्यापार सन्तुलन गर्छ ।

–    विदेशी लगानी भित्र्याउन पनि विदेशी मुद्रा सञ्चितीले सकारात्मक भूमिका खेल्छ ।

–    विदेशबाट वस्तु तथा सेवा किने वापतको भुक्तानी गर्न सहज हुन्छ । 

तर, विदेशी मुद्राको सहि उपयोग नगर्दा यसले जटिलता पनि निम्ताउने अर्थका जानकारहरू बताउँछन् । किनकी, उपभोगवादी संस्कृति मात्रै बढ्दा अर्थतन्त्रमा खासै सुधार हुँदैन । 

विदेशी मुद्रा सञ्चिति धेरै हुँदाको एउटा मुख्य बेफाइदा भनेको, मूल्यवृद्धि हो । यसको सिधा असर आम नागरिकमा पर्ने भएकाले सरकारले त्यहीँ अनुसारको अर्थनीति अबलम्न गर्न जरुरी छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update