काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण दैनिक उपभोग्य वस्तुको महंगी असाध्यै बढेको छ । दशैं नजिकिदै गर्दा उपभोक्ताको भान्सामात्रै महंगिएको छैन, किनमेलका अन्य सामाग्रीको मूल्य समेत आकाशिएको छ ।
नेपालीहरुको महानचाड दशैं शुरु भइसकेको छ । सामान्य समयमा छरिएर रहेका आफन्तहरु दशैंमा मानिसहरु एकैठाउँ भेला हुने, रमाइलो गर्ने, मासु खानेदेखि नयाँ लत्ताकपडा किन्ने गर्छन् ।
दशैंको बेला नेपालीहरुले खर्चको सीमालाई तन्काउने गर्छन, जसका कारण बजारमा मानिसको चहलपहल समेत उत्तिकै हुने गर्छ । तर, अहिले बजारमा किनमेलका लागि पुग्ने सर्वसाधारणहरु बजारमा महंगी बढेको र बार्गेनिङ गर्नुपर्ने स्थिति आइलागेको गुनासो गरिरहेका छन् ।
बजारमा पुगेकाहरु महंगी बढेको बताइरहेका छन् । तर, महंगिको कारण वा यसको नियन्त्रणबारे भने सरोकारवाला निकायलाई खास चासो नभएको गुनासो समेत बढिरहेको देखिन्छ । यस्तै, दशैंका लागि मासुको खपत नेपाली समाजमा उत्तिकै महत्वपूर्ण मानिन्छ ।
यस्तोमा काठमाडौं उपत्यकासहित विभिन्न सहरमा मुस्ताङ लगायतका लेक क्षेत्रबाट च्याङ्ग्रा पुग्न थालिसकेका छन् । भने खसीको उपभोग समेत उत्तिकै हुने गर्छ । यस्तोमा च्याङ्ग्राको मूल्य गएको वर्षभन्दा केहि घटेको बताइएपनि मासु प्रतिकिलो २५ सयमाथि पर्ने बताइन्छ । यद्दपी व्यापारीहरु दशैंका लागि खसी, बोका, च्याङ्गा ल्याएर बजारमा छिरिसकेका छन् । उनीहरु दशैंमा मासुको कमी हुन नदिने बताइरहेका छन् ।
विभिन्न क्षेत्रबाट खसी, बोका र च्याङ्ग्रा काठमाडौं पुगेपछि कलंकी खसी बजारले उपत्यकाको माग धान्न सक्ने गरी व्यवस्थापनमा जुटिसकेको भनिरहेको छ ।
यसरी दशैंसँगै बजारमा चहलपहल त बढेको छ तर, सर्वसाधारणको क्रयशक्ति भने खस्किदै गएको छ । मानिसहरु बाढी, पहिर र डुबानका कारण बिल्लीबाठ बन्न पुगेका छन भने ठूलोमात्रामा धनजनको क्षति समेत भएको छ । यस्तो स्थितिमा मनाउन थालिएको दशैं बजार महंगीले समेत चाप बढाएको छ ।
सरकार वेखबर
दशैं नजिकिएसँगै उपत्यका छाड्ने मानिसहरुले यातायातमा समस्या भोगिरहेका छन् । भाडादरदेखि अन्य विषयमा सास्ती खेपिरहेका सर्वसाधारणलाई सरकारले सहजीकरन गर्ने र उनीहरुलाई सहज वातावरण बनाइदिने गर्नुको सट्टा स्रोतको कमी देखाउदै टार्ने स्थिति बनेको छ भने बजारमा मूल्य नियन्त्रणको खास कदम समेत चाल्न सकिएको देखिन्न । यस्तोमा सर्वसाधारणले दशैं महङ्गी र सास्तीमै मनाउनुपर्ने स्थिति आइलागेको छ ।