News 24 Television
नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति

काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भएको बताएकी छन् ।

बिहीवार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषदमा आयोजित फोटो प्रदशनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन्दर र स्वस्थ वातवरण बनाउनुपूर्व सबैले सभ्य र अनुसाशित बन्न जरुरी रहेको बताइन् ।

सामुदायिक जंगलहरुमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदुषण गर्ने वस्तुहरु जथाभावी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने उनले बताइन् । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ । 

उनले भनिन्, ‘नेपालमा अहिले वायु प्रदुषणको कुरा गर्ने हो भने भताभुंग स्थिति छ । वन जंगलभर डढेलो लागेको छ हामी हेरिरहेका छौं । चुरोट खाएर धुवाँसहितको चुरोट जताततै फलिदिन्छौं । हामीसँग अनुशासन छैन । हामीले आउने पुस्तालाई स्वस्थ वातावरण दिनुपर्दछ । सुन्दर वातावारण बनाउनका लागि एक सुन्दर नागरिक बनाउन आवश्यक छ । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकाले वातावरण स्वस्थ राख्ने दायित्व समेत सबै देशको हो भन्ने मलाई लाग्छ । बालबालिकाहरुलाई समेत स्वस्थ वातावरणका फाइदाहरुबारे जानकारी दिनुपर्दछ ।’

देशभरका बालबालिकाहरुलाई स्वस्थ वातावरण निर्माणका लागि सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको उनले बताइन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update