मकवानपुर । दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्ग जीर्णोद्धारपछि पर्यटकका लागि खुल्ला गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको सुरुङमार्गको जिर्णोद्वार पछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
मकवानपुरको हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको स्वामित्व हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग सुरुङमार्ग पुनर्निर्माणको सम्झौता भएको थियो । जीर्ण अवस्थामा रहेको सुरुङमार्गको निर्माणमा अनेकन चुनौती खेप्न परेको निर्माण कम्पनी अनुभव छ ।
यता, प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जिर्णोद्धार सम्पन्न गरेको झण्डै बर्षदिन पछि सञ्चालनका लागि हेटौडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हेटौडा उपमहानगरपालिकाले सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि समेत तयार गरेको छ ।
तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकार हुँदा उक्त सुरुङमार्ग जीर्णोद्धारको काम सुरु गरिएको थियो । ऐतिहासिक धरोहरलाई संरक्षण गर्ने उद्देश्यले थालनी गरिएको सुरुङमार्ग सञ्चालनमा आउँदा आफ्नो सपना पूरा भएको पूर्व मुख्यमन्त्री डोरमणी पौडेल बताउँछन् ।
२०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको करिब बर्ष दिनभन्दा बढी समयपछि सर्बसाधारणको लागि खुल्ला गरिएको हो । एक शताब्दीको इतिहासलाई जीवन्त राख्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरोस् भन्ने उद्देश्यसहित हस्तान्तरण गरिएको प्रदेश सरकारले जनाएको छ ।
२ सय २५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ । नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङबीच भागमा भासिएर जोखिम अवस्थामा थियो । काठमाडौँलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।