News 24 Television
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ? 

काठमाडौं । बैैंकहरुले क्यूआरलाई आधार बनाएर डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरेकाले आम सर्वसाधारणको आकर्षण बढेको छ । अहिले महिनामै अर्बौंको डिजिटल बैंकिङ कारोबार हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ । 

नेपालमा डिजिटल बैंकिङ कारोबार बढ्दै गएको छ । भुक्तानीका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, कनेक्ट आइपीएस, डेविट तथा क्रेडिट कार्डको प्रयोग बढेपछि डिजिटल कारोबार बढेको हो । २०८१ पुस मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६३ लाख नाँघेको छ । 

जसले तीन खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । मंसिरमा तीन खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ बराबर कारोबार भएको थियो । डिजिटल कारोबार बढ्दै गएपनि नगदमा कारोबार गर्नेहरुको संख्या पनि उच्च छ । यसलाई पनि डिजिटल प्रणालीमा ल्याउने प्रयास भइराखेको राष्ट्« बैंकले जनाएको छ ।

मोबाइल बैंकिङपछि भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटको प्रयोगकर्ता पनि धेरै छन् । पुससम्म दुई करोड ५५ लाख ८० जनाले मोबाइल वालेटमार्फत ४० अर्ब ५६ करोड बराबरको कारोबार गरेका छन् । डेबिट कार्ड प्रयोगकर्ताको संख्या एक करोड ३३ लाख ६३ हजार पुगेको छ । डेबिट कार्डबाट एक महिनामा ९१ अर्ब ४५ करोडको कारोबार भएको छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । 

पुससम्म २१ लाख १८ हजारले इन्टरनेट बैंकिङ प्रयोग गरेका छन् भने पुसमा मात्रै उनीहरुले १७ अर्ब ५८ करोड ६० लाख रुपैयाँको कारोबार गरेका छन् । यस्तै कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या पनि १३ लाख ६४ हजार पुगेको छ । यसबाहेक आइपीएस, इसीसी, आरटीजिएस, ब्रान्चलेस बैंकिङ सेन्टर्स, प्रिपेड कार्ड, क्रेडिट कार्ड, एटीएम मसिनबाट हुने कारोबार पनि बढेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update