
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ तर संसदको चौँथो ठूलो दल हो । रास्वपा नेतृत्व र पार्टीका सांसदहरुमाथि बेलाबखत अपरिपक्वताको आरोप पनि लाग्ने गरेका छन् । अझ अहिले रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जस्ले पार्टी समग्र रुपमा अफ्ठ्यारोमा छ । र, उसले पार्टीको गतिविधिलाई चलायमान पार्नसमेत सकेको छैन ।
रास्वपाले गत चैतदेखि दुई महिने जनयात्रा आरम्भ गर्ने तयारी गरेको थियो । यद्यपि यात्रा आरम्भ हुनुभन्दा एक दिन अघि नै सभापति रवि पक्राउ परे । यसपछि रास्वपाको जनयात्रा अभियान प्रभावकारी हुनसकेको छैन । तर रास्वपा सांसदहरुले संसदमा भने प्रभावकारी ढंगले विषयवस्तुको उठान गरिरहेका छन् । मुख्यतः रास्वपाले सरकारको नीति तथा कार्यक्रमाथिको निर्मम समीक्षा र राजनीतिक नेतृत्वमाथिको बेथितिलाई सशक्त रुपमा खबरदारी गरेको देखिन्छ ।
मुलुकमा लामो समयसम्म पुराना दलहरुले शासनसत्ता हाँके । अझै तीनै पात्रहरुले राजनीतिक नेतृत्व गर्ने आकाङ्क्षा देखाइरहका छन् । यो क्रम अझै कहिलेसम्म रहन्छ, यसको टुंगो छैन । तर रास्वपाले दलका नेतृत्वहरुको यो चाहनालाई भने संदबाट राम्रैसँग चिरफार गरिदिएको छ ।
खासगरी तेस्रो पुस्तासमेत राजनीतिमा होमिसक्दा पुरानाले अझै कहिलेसम्म नेतृत्वको लोभ गर्ने ? यी नेतृत्वबाट अहिलेसम्म दीर्घकालीन उपलब्धी के–के प्राप्त भए ? उही असक्षम नेतृत्वको भरमा हामी कहिलेसम्म रहिरहने ? भन्ने प्रश्नलाई रास्वपाले गहन ढंगले उठाएको छ । जहाँ रास्वपाले जेन जी पुस्ताको माग र अधिकारको विषयलाई पनि गहनताका साथ समावेश गरेको छ ।
हुनपनि वर्तमान नेतृत्व र नेतृत्वको लाइनमा रहेका नेताहरु पटक पटक टेष्ट भइसकेका पात्र नै हुन् । दशकौँ सत्तामा रहँदा पनि मुलुक र जनताका लागि आमुल परिवर्तन दिन नसक्ने नेताहरुले अझै समृद्धि र सुशासनका नारा लगाउनु कतिपनि उचित देखिन्न । रास्वपा सांसदहरुले संसदमा यस्तै विषयलाई उठाएर आफूलाई अन्यभन्दा केही फरक देखाउन खोजेका छन ।
रास्वपाले यसअघि वर्तमान सरकारले नै राम्रो गर्न नसके कस्ले गर्ने ? भन्दै वर्तमान सरकार ढल्न नुहुने र यदी ढल्ने अवस्थामा रास्वपाले नै टेको हाल्नेसमेत आश्वसन दिएको छ । स्थायित्व र स्थिर सरकारका लागि रास्वपाको यो भनाइ पनि सकारात्मक देखिन्छ ।
त्यस्तै सरकारको नीति तथा कार्यक्रममाथि रास्वपाले गरेको टिप्पणी र संसदमा उठाएका विषयवस्तुहरुसमेत जायज र स्वभाविक देखिन्छन् । रास्वपाले रविको अभवामा पार्टीको गतिविधि चलायमान बनाउन सकेको छैन । जसकै कारण पार्टीको जनयात्रा कार्यक्रमसमेत अधुरै बनेको स्थिति छ । यद्यपि रास्वपाले सदनमा भने आफूलाई सशक्त र पृथक रुपमा उभ्याउन सफल भएको छ ।