
काठमाडौं । अहिलेको सत्ता समीकरणबाट काँग्रेस–एमालेको घनिष्ठता बढीरहँदा प्रतिपक्षी दलहरुसँग भने दूरी बढेको छ । संसदमा प्रतिपक्ष संख्यात्मक रुपमा कमजोर छ । तरपनि सत्तारुढ दलहरु काँग्रेस एमालेमाथि संगीन आरोप लगाएर भएपनि आफूलाई बलशाली बनाउने ध्याउन्नमा विपक्षी दलहरु रहेका छन् ।
यो अवस्थामा काँग्रेस–एमाले मिलनको आधार र प्रारम्भलाई नै गलत औँल्याउँदै विपक्षीहरु सरकारको नैतिकतामाथि प्रश्न उठाइरहेका छन् । यहाँसम्मकी प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पटक पटक यो सरकारको जग असंवैधानिक भनेर टिप्पणी गरेका छन् । यद्यपि टसमस नभएको सत्ता गठबन्धन अझै लामो समयसम्म रहिरहने अवस्था छ । मुख्यतः भ्रष्टाचार, अनियमितता र नैतिकहीनताको उपमा दिँने गरेका प्रचण्डले भर्खरै पनि सरकारलाई अनेकौँ प्रश्न र आलोचना गर्दै संसदमै आफ्नो नाम जोडिएका काण्डहरुको अनुसन्धान गर्न आफू तयार रहेको भन्दै प्रधानमन्त्री ओलीसहित काँग्रेसलाईसमेत नै खुला चुनौति दिए ।
यही चुनौतिकाबीच विपक्षी दलहरु एकअर्कामा लयमा लय मिलाउन थालिसकेका छन् । संसद र देशव्यापी कार्यक्रमहरुमा निस्कँदा सरकारमाथि अनेकाँै टिप्पणी गर्ने प्रचण्डको बोलीमा लय मिलाउँदै अन्य दलहरु पनि उही पक्ष लिइरहेका छन् । यो अवस्थामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सरकार र प्रधानमन्त्री केपी ओलीमाथि छेडखानी आरम्भ गरेका छन् । ओली चरित्र, सत्ता समीकरण अदलबदल, सरकारको ६ महिने अवधिको कार्यप्रस्तुति इत्यादीको सवालमा माधवले ओलीविरुद्ध गम्भीर रुपमै टिप्पणी गरेका छन् ।
यी अभिव्यक्तिहरुले सरकारको घेराबन्दी गर्न पुनः माधवको समर्थन प्रचण्डतिर ढल्किएको व्याख्या गर्न सकिन्छ । ०७९ को आम निर्वाचन अघि नै माधव र प्रचण्डले पार्टी एकीकरण गर्ने दावी गर्दै आएका थिए भने कार्यकर्ताहरुमा पनि उही प्रकृतिको सन्देश प्रवाह गरिएको थियो ।
यद्यपि पार्टी एकता नगरेपनि समाजवादी मोर्चाको अवधारणा बनाएर अघि बढी रहेका यी दलले सरकारमाथि तीतो र तीखो प्रहार गर्दै जनमत निर्माणको कार्यसमेत गरिरहेका छन् । तर यो राणनीति कतिसम्म सफल हुन्छ र प्रभावकारी बन्छ । यो हेर्न बाँकी छ ।
प्रचण्ड बोक्न बाध्य माधव
काँग्रेस र माओवादीसँग चुनावी तालमेल गरेर संसदमा १० सिटको आकार बनाएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको देशव्यापी आकर्षण देखिँदैन । यदी अन्य दलसँगको सहकार्य वा एकताविन माधवको भावि राजनीति साँघुरिनेमा पनि दुई मत छैन ।
यही आधारले पनि माधव प्रचण्डको आडमा ओली थर्काउने रणनीतिमै देखिन्छन् । माधवले पछिल्लो समय एमाले छाडेका घनश्याम भूसाललाई भित्र्याउन सफल भएपनि वामदेव तथा भीम रावललाई भने पार्टीमा भित्र्याउन सकेनन् ।
बरु पार्टी भित्रकै नेताहरु एमालेमै फर्किने व्यग्र चाहनामा रहँनु र केही नेता माओवादीतर्फ नै फर्किने अवस्था आएपछि माधव आँफै संकटमा देखिन्छन् । यो कारणले पनि माधव प्रचण्डसँगै लय मिलाएर ओलीविरुद्ध खुला टिप्पणी गर्दै समग्र सत्ता गठबन्धनमाथि नै घेराबन्दी गर्ने सन्देश दिइरहेका छन् ।
मनोवैज्ञानिक दवाव बढाउने प्रचण्ड कसरत
माओवादी अध्यक्ष प्रचण्ड सुदुरपूर्व झापादेखि सुदुरपश्चिम कञ्चनपुसम्मका विभिन्न जिल्लामा कार्यक्रम गर्दै हिँडिरहेका छन् । सत्ता बहिर्गमन भएयता उनले थालेका अभियानहरुबाट जनतामै फर्कन भनिरहेका छन् । यस्ता कार्यक्रमहरुमा आफूले ६४ कै झल्को पाइरहेको दावी गरिरहेका छन् भने आफूहरुप्रति नै जनता आकर्षित भइरहेको उनको जिकर छ ।
प्रचण्डको यो रणनीति पनि सत्तामाथिको दवाव र घेराबन्दी गर्नकै लागि हो । यसलाई आफ्नो पक्षमा माहोल देखाएर सत्ता गठबन्धनमाथि मनोवैज्ञानिक दवाद बढाउन चालकै रुपमा बुझ्न सकिन्छ ।
यही बोलीमा लोली मिलाउँदै माधवले पछिल्ला दिनहरुमा ओलीविरुद्ध शब्दवाण प्रहार थालेका छन् । कम्युनिष्ट एकताकै पहलामा रहेका नेताहरुले सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेमाथि यो प्रकारको अभिव्यक्ति दिनुले तत्कालका लागि वर्तमान सरकारमाथि घेराबन्दी गरेको देखिएला । तर यो शैलीले कम्युनिष्ट एकताको सूत्रमा बाँधिने विषयलाई भने कालान्तरसम्म नै बाधा पुग्ने निश्चित छ । अर्कोतर्फ माधव र प्रचण्डको शक्तिले मात्रै संख्यात्मक रुपमा ठूलो रहेका दल काँग्रेस एमाले गठबन्धनलाई कति प्रभावित गर्नसक्छ ? यो पनि सोचनिय विषय नै रहेको छ ।