
काठमाडौं । इन्टरनेटको दुनियाँमा अभ्यस्त बन्दै जाँदा यसबाट अनेक समस्याहरु पनि उत्पन्न भइरहेका छन् । अहिले इन्रटरनेट अर्थात् डिजिटल प्रविधिका कारण दुव्र्यवहार, ब्ल्याकमेलिङ, फेक अकाउन्टद्वारा चरित्र हत्या र बालबालिकासम्बन्धी आपत्तिजनक सामग्रीको फैलावट अत्यासलाग्दो गरी बढेको छ ।
जसका कारण पछिल्लो समय मानिसहरुको मानशिक र सामाजिक चरित्र र स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ । विशेषगरी महिलालाई लक्षित गरी सामाजिक सन्जालहरुमा दुरुत्साहनका यस्ता घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । यसले कानूनी र नैतिक पक्षमा गहिरो चिन्ता बढाएको छ ।
घटना–१
वैदेशिक रोजगारीमा रहेकी श्रीमतीसँग उनका श्रीमान् ह्वाट्सएपमा नियमित कुराकानी गर्थे । प्रेमभावका अभिव्यक्तिहरू साटासाट हुन्थे, गोप्य तस्वीर र भिडियोहरू आदानप्रदान पनि भइरहन्थे । तर जब सम्बन्धमा तिक्तता उत्पन्न भयो श्रीमानको मस्तिष्कमा प्रतिशोधको आगो बल्न थाल्यो । उनले पत्नीको संवेदनशील सामग्रीका प्रयोग गर्दै नक्कली फेसबुक एकाउन्ट बनाए । त्यसपछि, ती तस्वीरहरू फेसबुकको वाल र स्टोरीमा पोस्ट गरिदिए । साइबर अपराधको यो अमानवीय रूप प्रहरीसम्म पुग्दा पीडितका आफन्तहरू स्तब्ध थिए ।
घटना–२
एक विद्यालयका शिक्षकले आफ्नो विद्यार्थीको तस्वीरहरू डाउनलोड गर्थे । ती तस्वीरहरूलाई दुरुपयोग गर्दै उनले नक्कली फेसबुक अकाउन्टमार्फत अश्लील सामग्री तयार गरे । ती अपमानजनक पोस्टहरू सार्वजनिक भएपछि बालिकाका अभिभावकले तुरुन्त प्रहरीको ढोका ढकढक्याए ।
यी केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा साइबर अपराधको जालो दिन प्रतिदिन जटिल बन्दै गएको छ । कहिले प्रेम र विश्वासको नाममा त कहिले अनलाइन प्रतिशोधका घटनाले समाजलाई हल्लाइरहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अधिकृतहरू यस्ता घटनाले यति प्रभावित भएका छन् कि अब जो कोही देख्दा पनि शंका गर्ने अवस्थामा पुगेका छन् । नयाँ–नयाँ तरिकाले अपराध गरिने क्रम बढ्दा प्रहरीलाई समेत चुनौती थपिरहेको छ ।
अब हेरौं साइबर ब्युरोमा दर्ता भएका घटना
– आ.व २०७५÷७६ ३ सय ५७
– आ.व २०७६÷७७ मा २ हजार ३ सय १
– आ.व २०७७÷७८ मा ३ हजार ९ सय ६
– आ.व २०७८÷७९ मा ४ हजार ६ सय ८६
– आ.व २०७९÷८० मा ९ हजार १३
– आ.व २०८०÷८१ मा १९ हजार ७ सय ३०
– आ.व २०८१÷८२ को हालसम्म ९ हजार ९ सय ३२
हो, पछिल्लो समयमा डिजिटल प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढ्दै गएका छन् । त्यो हरेका वर्ष साइबर ब्युरोमा दर्ता भएका घटनाले पनि पुष्टि गर्छ । बाल यौन शोषण सामग्री, अनलाइन वित्तीय ठगी, रिभेन्ज पोर्न, ह्याकिङ, नक्कली पहिचान, साइबर बुलिङजस्ता घटनाहरूले व्यक्तिगत तथा सामाजिक जीवनमा गम्भीर असर पु¥याइरहेका छन् ।
आर्थिक वर्ष २०८०÷८१ नेपाल प्रहरी साइवर व्यूरोको तथ्यांक अनुसार ६ सय ३५ बालबालिकाकामध्ये बालक २ सय ५३ समेत गरी ३ सय ८२ साइवर अपराधका उजुरी दर्ता भएका छन् । त्यसैगरी साइवर व्यूरोमा दर्ता भएका १८ वर्षभन्दा माथिका महिलाहरूको संख्या ८ हजार ७ सय ४५ रहेको छ । नेपालमा भएका ८१ % भन्दा बढी अनलाइनका घटनाहरू फेसबुक मार्फत भएकोे देखिन्छ ।
अब हेरौं सन् २०२३ मा भ्वाईस अफ चिल्ड्रेन र केएनएच जर्मनीले गरेको अध्ययनको तथ्यांकः
– कोशी र बागमती प्रदेशका ५ सय १४ बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारबालाहरूसंग अध्ययन गरेको
– १३ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिका सहभागि
– त्यसमध्ये ५५ % बालिका र ४५ % बालक
– ९७ % बालबालिकामा इन्टरनेटको पहुँच भएको
– बालिकाहरूमध्ये ३८.६० % ले यौनजन्य सन्देशहरू, ३४ % ले अश्लिल फोटोहरू, १३.६० % लाई अश्लिल लिंक र भिडियोहरू आएको तथा ६.२० % ले अनलाइनबाट अन्य दुव्यवहार र शोषणमा परेको
– बालकाहरूमध्ये ३२.३० % ले यौनजन्य सन्देशहरू, २९.२० % ले अश्लिल फोटोहरू, १५.४० % लाई अश्लिल लिंक र भिडियोहरू आएको तथा ६.२० % ले अनलाइनबाट अन्य दुव्यवहार र शोषणमा परेका
– सहभागी अभिभावकहरूमध्ये ९९ % ले आफूसँग इन्टरनेटको सुविधा भएको, अनलाइन बालयौन दुव्यवहार बारे थोरै जानकारी भएपनि कानूनी प्रावधानहरू, उजुरी प्रक्रिया, इन्टरनेट सेवा प्रदायकहरूको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षा जस्ता विषयमा जानकारी नभएको बताएको
– सन् २०२० मा युनिसेफ र चाईल्डसेफनेटले गरेको अध्ययनमा सहभागी भएका बालबालिका मध्ये ४२ % ले अनलाइनमा यौनजन्य सामग्रीहरू हेर्ने गरेको
– सन् २०१७ मा भ्वाईस अफ चिल्ड्रेन र एक्प्याट लक्जम्बर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समूहका ४ सय ५२ बालबालिकासँग गरिएको सर्वेक्षण अनुसार ७५ % बालबालिकाले अनलाइनबाट हुने यौन दुव्र्यबहारबाट हुने उपायहरूबारे थाहा नभएको
त्यस्तै, सानै उमेरमा सामाजिक सञ्जालको प्रयोगबाट चिनजान बढ्दै प्रेम सम्बन्धमा पुग्ने प्रवृत्ति पनि देखिन्छ । तर, अपरिपक्व उमेरका कारण सही निर्णय गर्न नसक्दा झगडा उत्पन्न हुने र अन्ततः सामाजिक सञ्जालकै माध्यमबाट अपराधसम्म पुग्ने घटनाहरू बढिरहेका छन् ।
विद्युतीय कारोबार ऐन २०६३ को आधारमा नै हाल अनुसन्धान र मुद्दा दर्ता हुने गरेको छ । यद्यपि, नेपालमा सामाजिक सञ्जाललाई नियन्त्रण तथा नियमन गर्ने कुनै स्पष्ट कानुनी प्रावधान हालसम्म बनेको छैन । र, बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन नहँदा प्रभावकारी अनुसन्धानमा कठिनाइ भोग्नुपरेको छ ।
अनलाइन माध्यममा बालबालिकाको सुरक्षाका लागि अभिभावक तथा शिक्षकहरूले सचेत रहनु आवश्यक छ । इन्टरनेटको सुरक्षित प्रयोग, अनलाइन गोपनीयता जोगाउने, अपरिचित व्यक्तिसँग संवाद नगर्ने र व्यक्तिगत जानकारी साझेदारी नगर्ने विषय बालबालिकालाई सिकाउन जरुरी छ ।
बालबालिकाहरूको सूचना, अभिव्यक्ति लगायतका हक सुनिश्ति गर्न पनि सुरक्षित वेबसाइटहरूको प्रयोग गर्न अभिप्रेरित गर्नुपर्छ ।
यस्तैै ‘सुरक्षित इन्टरनेट दिवस २०२५’ को अवसरमा अनलाइन दुव्र्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा साइबर सुरक्षा विज्ञ, सञ्चारकर्मी, मानव अधिकारकर्मी, तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले साइबर सुरक्षाबारे जागरुकता फैलाउने प्रतिबद्धता जनाउँदै सुरक्षित इन्टरनेट वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
सामाजिक सञ्जालको उपयोग गर्ने सबैलाई जिम्मेवार र सचेत बनाउनु अत्यन्त आवश्यक छ । सरकार र सम्बन्धित संस्थाहरूले यस समस्याको समाधानका लागि सशक्त कदम चाल्नुपर्नेछ भने सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले डिजिटल संस्कृतिमा आफूलाई सावधानी र जिम्मेवारीका साथ प्रस्तुत गर्नुपर्छ । तबमात्रै, यस्ता जघन्य घटनाहरूको नियन्त्रण गर्न सकिन्छ ।