News 24 Television
ओखलढुंगाको विगुटारमा कृषक मख्ख पर्ने वितरण केन्द्र 

ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित भैरबटोलमा अघिल्लो दशैँदेखि हटिया लाग्दै आएको छ । प्रत्येक शनिबार र बुधबार हटिया लाग्ने यस ठाउँबाट तरकारी, फलफुल, कपडा र विभिन्न प्रकारका खाद्य सामग्री किनबेच हुने गरेको छ । सडकमै तरकारी फलफूल बिक्रि गर्दै आएका कृषकहरुलाई अहिले तरकारी तथा फलफूल बिक्रि वितरण केन्द्र स्थापना गरिएपछि निकै राहत भएको छ । 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ की विगुटारकी निङ्मा शेर्पा तरकारी उत्पादन गर्ने अगुवा कृषक हुन । सदरमुकाममा लाग्ने शनिबार र बुधबारको हटियामा उनले विभिन्न किसिमका तरकारी बिक्री गर्ने गरेकी छिन । लामो समय देखी सडकमै तरकारी राखेर बिक्री गर्नुपर्दा उनलाई निकै कष्ट थियो । तर अहिले भने ब्यवस्थित तरकारी बिक्री स्टल पाएपछि उनी दंग छिन ।

विगुटारकै अन्य कृषकहरु पनि सहज र सुरक्षित रुपमा तरकारी बिक्री गर्न पाएपछि निकै खुसी देखिए । यसअघि उनीहरुले पनि खुल्ला स्थानमै बसेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता थियो । घाम र पानीका कारण एकातिर तरकारी बिग्रिने डर हुन्थ्यो भने अर्कोतिर तरकारी राख्ने गतिलो ठाउँ समेत थिएन । तर अहिले त्यो समस्या समाधान भएपछि कृषकले राहतको महशुस गरेका छन् ।

सदरमुकाममा खपत हुने तरकारीको ठुलो माग बिगुटारबाटै धानिएको छ । यहाँका धेरै कृषकले आफैले उत्पादन गरेका कृषी उपज बिक्रीका लागि ल्याउने गरेका छन् । तर तरकारी बिक्री गर्ने सुरक्षित स्थान नहुँदा कृषकले निकै समस्या भोग्नुपरेपछि नगरपालिकाले तरकारी बिक्रि वितरण गर्ने ट्रस निर्माण गरेर कृषकको समस्या सम्बोधन गर्ने प्रयास गरेको हो । 

स्थानीय सरकार आएको लामो समयपछि तरकारी विक्री वितरण केन्द्र स्थापना गरेर नगरपालिकाले हाटबजार व्यस्थापनमा निकै राम्रो प्रयास गरेको छ । जसका कारण हटियामा तरकारी बिक्री गर्ने बास्तविक किसाने केहि राहतको महसुस गरेका छन् । तर तरकारी बिक्री स्टल अझै पर्याप्त नभएकाले नगरपालिकाले थप सक्रियता देखाउनु पर्ने स्थानीय बताउँछन् । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update