
काठमाडौँ । प्रधानमन्त्री केपी ओली लुम्बिनी प्रदेशसभाको सम्बोधनदेखि विभिन्न काक्र्रममा सहभागी भए । ओलीले प्रदेशसभालाई सम्बोधनको क्रममा संघीयता बलियो बनेको उदाहरण लुम्बिनीलाई पेश गरे भने अन्य कार्यक्रममा राजनीतिक आलोचनामा समय खर्चिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । प्रदेसशसभामा सम्बोधनको क्रममा पुगेका उनलाई प्रदेशसभाले भव्य स्वागत गरेको थियो । राम्रो सत्कार पाएका प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासलाई संघीयता सफलताको मानक मान्न सकिने जिकिर गरे ।
ओलीले यतिमात्रै भनेनन्, प्रदेशसभालाई आफू नेतृत्वको सरकार १७ महिना चल्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको नेतृत्व गर्ने जानकारी समेत दिए ।
सत्ता कहिलेसम्म भन्ने विषयमा स्पष्टीकरण दिनु पछिल्लो समय प्रधानमन्त्रीको दिनचर्या जस्तै बन्न पुगेको छ । ओलीले आफू नेतृत्वको सरकार देउवालाई हस्तान्त्रण गर्ने विषयमा पटक–पटक स्पष्टीकरण दिदै गर्दा सत्तामै नरहेको कम्युनिष्ट पार्टीले भने व्यङ्ग्य कस्दै आएको देखिन्छ ।
प्रधानमन्त्रीले पटक–पटक सत्ता हस्तान्त्रणको विषय राख्दा राजनीतिक रुपमा अनेक शंकाहरु गर्न थालिएको छ । तर, दाङ पुगेका प्रधानमन्त्रीले आफ्नो पार्टीका महासचिव शंकर पोखरेललाई निर्वाचन हराएर गल्ति गरेको भन्दै जनतासँग गुनासो पनि गरे ।
पोखरेललाई तत्कालीन माओवादी एमाले गठबन्धनको सरकारमा उपचुनावमार्फत प्रतिनिधिसभामा ल्याउन कोसिस भने गरिएको थियो । त्यो बेला पोखरेललाई पराजित गरेकी रेखा शर्मालाई उपराष्ट्रपति बनाएर ल्याउने प्रयास चलेपनि उनले यो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । त्यसपछि शर्माले सञ्चार मन्त्रालयको जिम्मेवारी नै सम्हालिन् । यद्यपी अहिले माओवादी एमालेबीच लामो घोचपेच र विवाद देखिने गरेको छ । दाङमै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देशकै सबैभन्दा ठूलो लुटेराको संज्ञा दिएका छन् ।
यसरी चलिरहेको विवादको क्रममा लुम्बिनी पुगेका ओलीले दिएको अभिव्यक्तिले अबको राजनीति कता जाला ? प्रश्न र शंका भने चल्न थालेका छन् । पछिल्लो समय राष्ट्रियसभामा देखिएको संकटका कारण पनि ओलीले आक्रोश पोख्न थालेको आरोप लाग्न थालेको छ ।