
झापा । गाईको व्यवसायी पालनमा लागेका किसानहरु मारमा पर्न थालेका छन् । गाई फर्म नै दर्ता गरि व्यवसायमा लागेकाहरु सुरुवाति चरणमा धेरै सफल पनि भए । तर, मुुलकमा उचित व्यवस्थापन नहुँदा अहिले ऋणले थिच्न थालेको गुनासो उनीहरुको छ ।
झापामा करिब दशवर्ष अघिसम्म औंलामा गन्न सकिने व्यवसायीक गाई फर्महरु थिए । तर, त्यस यता गाँउ–शहर जताततै साना–ठुला गाई फर्म सञ्चालनको होड नै चल्यो । राम्रो आम्दानी हुने भएपछि आफ्नो जायजेथा राखेर भएपनि बंैक तथा सहकारी संस्था वा साहु माहजनबाट ऋण लिएर भएपनि लाखौंको लागतमा किसानहरुले गाई फर्महरु सञ्चालन गरे ।
दीर्घकालीन सोचका साथ लाखौंको लागतमा गाईको गोठ बनाएर उन्नत जातको गाईमा एक पटक लगानी गरेपछि दूध दिउञ्जेल निरन्तर आम्दानी हुने सोचका साथ किसानहरु गाई फर्ममा होमिए । तर, द्ूधले उचित मूल्य नपाउँदा आम्दानी त परैको कुरा यसले गाईकोे खर्च समेत धान्न मुस्कील परिरहेको किसानहरु बताउँछन् ।
गाई फर्म सञ्चालनबाट राम्रै कमाई हुन्छ भन्ने बुझेका व्यवसायीक गाई पालक किसानहरु यतिबेला नाफाको कुरै भएन बैंकको व्याज समेत तिर्न नसकेर समस्यामा छन् ।
कुनै समय ७४ रुपैयाँको दरले बेचेको दूध अहिले ५६ रुपैयाँमा विक्री गर्नु पर्दा लगानी जोखिममा परेको जानकारहरु बताउँछन् । यहाँका किसानहरुले एक लाख २० हजारदेखि २ लाख ५० हजारभन्दा बढी मुल्य पर्ने होलिस्टेन, गिर, जर्सी, साइबल र लोकल जातका गाई पालेका छन् ।
लाखौं मूल्यका गाई खोरत लगायतका रोगले सखाप हुँदा थुप्रै गाई फर्महरु बन्द नै हुने अवस्थामा पुगेका छन् । राज्यले समयमा नै आवश्यक औषधि र खोप उपलब्ध गराउने हो भने, क्षति कम गर्न सकिने पशु प्राविधिक वीपन प्रधान बताउँछन् ।
झापामा मात्रै करोडभन्दा बढी लगानीका निजी तथा सामुदायिक ६० भन्दाबढी गाई फर्महरु छन् । त्यस्तै लाखौं लगानीका करिब एक सय छन् । तर, बजार व्यवस्थापनदेखि अन्य आवश्यक पक्षतर्फ सरकारको ध्यान नपुगेकाले तीनै तहका सरकारले समस्या समाधानका लागि विशेष प्राथमिकता राख्नु पर्ने देखिन्छ ।