
जुम्ला । नेपालीहरु आफ्नो दोस्रो ठुलो चाड तिहारमा रमाई रहेका बेला जुम्लाका किसानहरु भने धान खेती व्यवस्थापन गर्न भ्याइनभ्याई छ । मार्सी धान उत्पादनका लागि चर्चित क्षेत्र जुम्लामा किसानहरुलाई धान काट्न र थन्काउन भ्याइनभ्याइ देखिएको छ ।
नेपालको चर्चित पर्यटकीय क्षेत्र जुम्ला । यो क्षेत्र प्राकृति सुन्दरताले भरिएको चर्चित ठाउँ हो । अहिले तिहारको माहोल छ । पर्यटकीय मौसमपनि छ । त्यसैले पर्यटकहरुका लागि यो क्षेत्र घुमाइका लागि रोजाई बन्दै गर्दा यहाँका किसानहरुलाई भने चाडपर्व, घुम्ने मौसम भन्दा बढी धान काट्न र भित्र्याउनको चटारो छ ।
विश्वको अग्लो स्थानमध्येको एक जुम्लाको छुमचौरीदेखी जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतमा काली मार्सी जातको धान उत्पादन हुने गर्छ । यतिवेला बिहानदेखी बेलुकासम्म नै किसानहरु यि नै धान काट्न र व्यवस्थापन गर्न व्यस्त छन् । बालबालिकादेखी ज्येष्ठ नगारिकसम्मै मार्सि धानसँग रमाउदै धान काटिरहेका छन् ।
जुम्ला जिल्ला भरीमा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको अभिलेखमा छ । तर, पछिल्लो समयमा जुम्लामा पाइने कालीमार्सी, रातो लोक्कल, बिकासी, चन्दानाथ १ र २, छुमचौर लगाएतका बिभिन्न जातका धान रोप्ने गरेका छन् ।
बिगतका बर्षहरुमा स्थानीय गोठेमल प्रयोग गरी स्थानीय जातका कालीमार्सी धानमात्र लगाउने गर्दा धान उत्पादन निकै राम्रो हुने गरेको थियो । तर, पछिल्ला वर्षहरुमा कालीमार्सी उत्पादन घट्दै गएको छ । पछिल्ला वर्षहरुमा बिभिन्न जातका विकासे धानको खेति गर्ने, खेतमा झारपात नउम्रीने बिषादी, यूरीया मल लगाएतका विभिन्न बिषादी प्रयोग गर्ने र समयमै आकाशे पानी नपर्दा कृषकले गरेको मेहेनेत अनुसार जुम्ली कालीमार्सी धान उत्पादन कम हुदै गएको हो ।
जुम्लामा २०२७ सालमा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्ष भन्दा बढी समय लगाएर स्वदेशी तथा विदेशी जातका धानको बिउको अनुसन्धान गरेको थियो । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिएपनि अन्य बिउका जातहरु हराउदै गएका छन्् ।
पछिल्ला बर्षहरुमा कनका सुन्दरी गाँउपालिका लगाएत जुम्ला जिल्लाका अन्य स्थानमा धान खेति गर्दा बिगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरुमा धान खेतिको उत्पादन घट्दै जान थालेको छ । जिल्ला भरी बिषादीमुक्त जिल्ला घोषणा गरे पनि लुकीछिपी विषादी र यूरीया मल प्रयोग गर्ने ,कृषकहरुले मनपरि बिभिन्न जातका बिउ लगाउने ,जलवायु परिवर्तन ,पर्याप्त मात्रमा सिचाई नहुनु आकासबाट समयमा पानी नपर्नुले जुम्लाको कालीमार्सी तथा स्थानिय जातको धान उत्पादनमा कमी आएको हो । नेपालका ठूला शहरमा जुम्ली काली मार्सी धानको चामलको माग बढी रहेको छ , तर उत्पादन घट्दै गएको छ । यस अवस्थाले व्यवसायिक अवसर पनि गुमिरहेको छ ।
मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । स्वास्थ्यका लागि र व्यवसायिक रुपमा स्थापित गर्न पनि जुम्लामा रहेका स्थानीय तहहरुले उच्च स्थानमा फल्ने लोपोन्मुख कालीमार्सी धान खेतीको संरक्षणमा चासो दिनु जरुरी देखिन्छ ।