
काठमाडौं । कांग्रेसको राजनीतिमा गुटले प्रभाव जमाउने गर्छ । गुट समूहहरुले गहिरो प्रभाव राख्ने कांग्रेसमा नेताहरुले देखाउने व्यवहार भने रोचक हुने गर्छन् । यस्तोमा कांग्रेस नेता शेखर कोइरालाले पार्टी महाधिवेशनको मागसहित सरकारमाथि धावा बोल्ने कामलाई तीब्रता दिन थालेका छन् ।
कांग्रेस महाधिवेशनको सम्मुखमा छ । तर, समयमै महाधिवेशन गर्न तयार देखिन्न । समयमै महाधिवेशन कहिल्यै नगरेको कांग्रेसले अन्तिम घडी हेर्दै गर्दा कांग्रेसमा शेखर कोइरालादेखि अन्य नेताहरुलाई महाधिवेशनको रङ भने चढिसकेको छ । यता, महाधिवेशनमा को कता हुने भन्ने विषयले कांग्रेसको राजनीतिक माहोल भने गर्माएको छ । यस्तोमा कांग्रेस महामन्त्री गगन थापा पनि महाधिवेशनबारेका विषयमा समयमै हुने भन्छन् ।
गगनले महाधिवेशन समयमै हुन्छ भनेपनि त्यो ०८४ को निर्वाचनअघि जहिले पनि हुने भन्ने आशय व्यक्त गरिरहेका छन् । यसको अर्थ गगनले भनेको महाधिवेशनको समय पार्टी सभापति शेरबहादुर देउवाको निगाहमै देखिन्छ । तर, उनी सरकारबारे विरलै आलोचना गर्ने गर्छन् । गगनले धार परिवर्तन गरेको आरोप लागिरहेको बेला गगनको टिमका नेता शेखर कोइरालाले पहिले–पहिले सरकार निर्माणलाई खुशीको रुपमा साट्ने गर्थे । कांग्रेस एमाले मिलेर सरकार निर्माण गरेपछि शेखर कोइराला आशावादी देखिन्थे । उनले दुई दलको सरकार राजनीतिक स्थायित्वका निम्ति भएको जिकिर गर्थे ।
कांग्रेस एमाले सत्ता सहकार्यलाई स्थिरतासँग जोड्ने शेखर पछिल्लो समय भने सत्तामा छौं तर सरकारमा छैनौं भन्दै नेता कोइरालाले विरोध गरिरहेका छन् ।
यसरी सरकारको विपक्षमा उभिन थालेका शेखरले पछिल्लो समय भने कांग्रेस हराउन थालेको भनिरहेका छन् । शेखरले देश नै एमालेकरण त बनेन भनिरहेका छन् ।
शेखरले यस्तो बताउनुअघि उनी प्रायः सत्ताविरोधी अभियानमा होमिने गरेको तथ्य खुल्ने देखिन्छ । यसको तथ्य हो, कोशी प्रकरण । कोशीमा प्रदेश सरकार निर्माणको क्रममा शेखरले आफ्नो निर्देशनमा एमालेसँग मिलेर सरकार निर्माण गरेका थिए । त्यो बेला माओवादी केन्द्रले कोशी सरकारको नेतृ्त्व गर्ने जिम्मा पाएको थियो ।
त्यो बेला कांग्रेस माओवादीको सत्ता गठबन्धन थियो । यस्तो स्थितिमा शेखरले त्यति मात्रै नगरी राष्ट्रियसभा निर्वाचनमा समेत धोकाधडी मच्चाएको आरोप लाग्ने गरेको छ ।
माओवादी केन्द्रसँगको गठबन्धनकाबीच शेखरले धोका दिदा एमालेले राष्ट्रियसभामा निर्वाचन नै जितेको थियो । यहि कारण कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको अध्यक्ष बन्ने मौका नै गुमाएको चर्चा चल्ने गर्छ । यसरी हेर्दा कोइरालाले निर्माण गर्ने राजनीतिक माहोलले सत्ता परिवर्तन समेत हुने गरेको देखिन्छ ।
महाधिवेशनको चटारो
कांग्रेसको १५ औं महाधिवेशन कहिले हुने भन्ने अन्योलताकाबीच शेखरले आफ्नो समूह निर्माणको तयारी तीब्र पारेका छन् । देउवाले भेला डाकेर छलफल गरेपछि उनले पनि आफू पक्षीय नेताहरुलाई बोलाएर छलफल गरेका छन् ।
शेखरले महाधिवेशनबाट सभापतिको उम्मेदवारी दिने र पार्टीको नेतृत्व गर्ने तयारी गरिरहेका छन् । यद्यपी उनले अहिले अपनाइरहेको शैलीले कस्तो लाभहानी हन्छ भन्ने विषय सरकारको नेतृत्व देउवाले लिने स्थिति बन्ने नबन्नेसँग नै केन्द्रित देखिन्छ । देउवाले सरकारको नेतृत्व लिने स्थिति बनेमा महाधिवेशनको पल्लाभारी उनकै पक्षमा पर्न सक्ने खतरालाई केन्द्रमा राख्दै शेखरले अहिले कांग्रेसलाई जागृत पार्ने भन्न थालेका छन् ।