
काठमाडौं । वर्तमान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यतिबेला तराई–मधेस जागरण अभियानमा छ । तराई–मधेस जागरण अभियान भनिए पनि यो मधेस प्रदेशमा मात्र सीमित छैन ।
झापाबाट शुरु भएको अभियान चैत ७ गते कञ्चनपुर पुगेर समापन गरिँदैछ । कार्यकर्तासँगको सम्बन्ध मजबुत बनाउन भन्दै केन्द्रदेखि प्रदेश, जिल्ला र पालिकाका कार्यकर्ताहरुको सहभागिता रहने गरी सञ्चालन गरि शुरु भएको अभियानको शुरुवाती चरणमा विग्रहका संकेतहरु देखा परेका छन् ।
खासगरी तराई–मधेसमा जागरण ल्याउनकालागि भन्दै नेकपा माओवादी केन्द्र यतिबेला एक महिने अभियानमा छन् । यो अभियान सकिएपछि बैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने योजनामा यो पार्टी रहेको छ ।
माओवादी सत्ताबाट बर्हिगमनमा परेपछि कांग्रेस–एमाले गठबन्धनको सरकार ढल्ने भविष्यवाणी गर्दै हिडेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भने फेरि माओवादीको लहर आएको भाषणबाजी गर्दै हिँडेका छन् ।
देशदौडाहाका क्रममा आफूलाई छुन खोज्ने र फोटो खिचाउनेको भिँड बढेकोले उत्साहित भएको प्रचण्ड स्वयम्ले बताउने गरेका छन् । तर तराई मधेस जागरण अभियानको शुरुवाती चरणमा नै कार्यकर्तामा उभार होइन, पार्टीभित्रै द्वन्द्व डरलाग्दो गरी मौलाएको छ । यसको संकेत झापामा अभियान उद्घाटन कार्यक्रममै नेता नारायणकाजी श्रेष्ठले गरेका छन् ।
प्रचण्डकै नेतृत्वमा सरकारमा सहभागी भएर मुलुकको समृद्धिको भाषणबाजी गर्दा गर्दै बम्किएका उनले आफूलाई बोल्न नदिएको अभिब्यक्ति चितवनमा पनि दिए । बरिष्ठ उपाध्यक्ष श्रेष्ठ मात्र होइन, अन्य नेताहरुले पनि पार्टी भित्रको असन्तुष्टि सार्वजनिक रुपमै अभिब्यक्त गर्न थालेका छन् ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अभियानकै क्रममा बुधबार आयोजित कार्यक्रममा पार्टीमा आत्मालोचना नै हुन छाडेको भन्दै पार्टीको कमजोरी औंल्याएका छन् ।
माओवादी भित्र चरम गुटबन्दी रहेको कुरा पार्टीको विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन प्रक्रियामा नै देखिएको थियो । गुटगत रुपमा प्यानल नै बनाएर विद्यार्थी नेताहरुलाई मैदानमा उतारिएको थियो । पार्टीभित्रको गुटबन्दी रोक्नकै लागि प्रचण्ड कहिले नारायणकाजी त कहिलो जनार्दन र वर्षमान पुनको काँध थापेर तस्विर सार्वजनिक गर्ने गरेका छन् । सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आएपछि माओवादी आफ्नो वर्गबाटै अलग भएको स्वीकारोक्ति प्रचण्डले सत्ता बाहिर भएका बेला गर्ने गर्छन् ।
अहिले पनि आफ्नो पार्टी आफ्नै वर्ग तथा शहीद बेपत्ता परिवारतिर फर्किएर ऊर्जा पैदा भएको भन्दै ६४ को लहर ८४ मा आउने बताइरहेका छन् । तर पार्टीभित्र समस्या हुने डर पनि उत्तिकै देखिन्छ ।
सशस्त्र द्वन्द्व हुँदै शान्ति प्रक्रियामा आएपछि ६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी देशकै पहिलो पार्टी बनेको थियो ।
हतियारको युद्ध लडेर आएको माओवादीप्रति आम नागरिकको भरोसा उच्च थियो । त्यसयता माओवादीले थुप्रै पटक सरकारको नेतृत्व पनि ग¥यो । तर माओवादी नेतृत्वको सरकार पनि अन्य राजनीतिक दल भन्दा फरक देखिएनन् । जसका कारण नागरिकमा निराशा ब्याप्त छ । अब ८४ को निर्वाचन नजिकिँदै गर्दा शहीद परिवार र आफ्नो वर्गलाई दिएको आश्वासन कति प्रभावकारी होला समयक्रमले बताउने नै छ ।