
काठमाडौं । अचानक सत्ताच्यूत भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पुनः शक्तिआर्जनका लागि अनेक प्रयासमा छन् । आफुलाई राजनीतिको केन्द्रमा ल्याउन उनले पूर्वमाओवादीदेखि विपक्षी दलहरुसम्मलाई एकत्रित गरिरहेका छन् । यसैबीच माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गरेको छ ।
कहिले काँग्रेससँग मिलेर त कहिले नेकपा एमालेसँग सहकार्य गरेर करिब १० वर्ष सत्ता सयर गरेको नेकपा माओवादी केन्द्र अहिले सत्ता बाहिर छ । गत असारमा संसद्का दुई ठुला दल काँग्रेस र एमालेबीच सत्ता सहकार्य भएपछि माओवादी केन्द्र सत्ताच्युत भएको थियो ।
सत्तामा रहँदा कुर्सी बचाउन सधैँ व्यस्त रहेको माओवादीले सत्ताच्युत भएपछि भने जनता सम्झन थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले जनतामा जाने अभियानको नेतृत्व गरिरहेका छन् । यतिबेला उनी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’मा रहेका छन् ।
प्रचण्डको पछिल्लो सक्रियता देख्दा सरकारको कार्यशैलीबाट निराश भएका जनताको विश्वास जित्न र जनमत बटुल्ने रणनीतिमा देखिन्छन् । उनी जहाँ बास बस्छन्, त्यहाँ उनले स्थानीयसँगै खाना खाने, मर्निङवाक गर्ने, उनीहरूका कुरा सुन्ने गरेका छन् ।
गत असार अन्तिममा प्रधानमन्त्रीको हैसियतमा सदनमा विश्वासको मत माग्ने क्रममा प्रचण्डले अब बन्ने सरकार ‘माफियाहरूले चलाउन सक्ने’ आरोपपूर्ण अभिव्यक्तिसहित गम्भीर प्रश्न उठाएका थिए । त्यसयता उनी वर्तमान काँग्रेस–एमाले सम्मिलित सरकारमाथि निरन्तर खनिँदै आएका छन् । यसक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोकेबाज, जाली, कपटी तथा बेइमानी नै करार गरिसकेका छन् ।
एकातिर उनी गठबन्धनभित्रको अन्तर्विरोधका कारण ओली नेतृत्वको सरकार आफैँ ढल्ने घोषणा गरिरहेका छन् भने अर्कोतिर माओवादी केन्द्र तत्काल सरकारमा जाँदैन, यो सरकार ८४ को निर्वाचनसम्म नै चलोस् भन्न छाडेका छैनन् ।
गत माग ८ गते गृह जिल्ला चितवन पुगेर सरकार आफैँ ढल्ने दाबी गरेका प्रचण्डले बुधवार विराटनगरमा पनि सोही कुरा दोहो¥याए ।
तर कहिलेसम्म सरकार ढल्छ र नयाँ सरकार कसरी बन्छ भन्ने कुरा भने प्रचण्डले किटान गर्न सकेका छैनन् । यता, प्रधानमन्त्री ओलीले भने तोप नै हाने पनि १७ महिना सरकार नढल्ने जिकिर गरेका छन् ।
ओली र देउवावीच भएको सहमति पूर्ण पालना भएमा २०८४ यता माओवादी चाहेर पनि सत्तामा आउने सम्भावना देखिँदैन । पार्टीको नेतृत्वको कार्यशैलीको कारण माओवादी आन्दोलन कमजोर भएको विश्लेषण भइरहँदा अध्यक्ष प्रचण्ड पार्टी निर्माणमा अभियानमा लागेका छन् ।
त्यसो त शक्ति आर्जन गर्न उनले विपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर मोर्चाबन्दी गर्ने प्रयास पनि गरेका छन् । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा मुद्दा चलिरहेका रास्वपा सभापति रवि लामिछानेमाथि सरकारको ‘प्रतिशोधपूर्ण व्यवहार’ भएको भन्दै अनुसन्धानलाई मसला बनाएर ‘राजनीति कार्ड’ फालेका छन् ।
सत्तामा रहुञ्जेल माओवादीबाट बाहिरिएका अन्य दललाई एकीकृत गर्न चासो नदिएका प्रचण्डले सरकार ढलेपछि पुनः पूर्वमाओवादी घटकहरुसँग एकताको प्रयास जारी राखेका छन् । त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर समाजवादी मोर्चालाई समेत सक्रिय बनाएका छन् ।
सत्ता बनाउन र भत्काउन माहिर प्रचण्डले अब काँग्रेस, एमाले कुनै पार्टीसँग गठबन्धन नगरी माओवादीलाई वैकल्पिक शक्ति बनाउन सक्लान् त ? यो प्रश्नको जवाफ अब प्रचण्डले गफले होइन, २०८४ को निर्वाचनले दिनुपर्नेछ ।