News 24 Television
शिक्षक–प्रहरी झडपमा पत्रकार कार्की गम्भीर घाइते, तिलगंगामा उपचार हुँदै

काठमाडौँ । आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको क्रममा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ  ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

सोही समयमा समाचार सङ्कलनको लागि पुग्नुभएकी प्राइम टाइम्स टेलिभिजनकी पत्रकार कार्की घाइते भएकी हुन् । उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । चोटको कारणले कार्कीका दुवै आँखाका लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

घाइते कार्की समाचार सङ्कलन गरिरहेका बेला प्रहरीले चलाएकाे पानीको फोहोराले एक्कासि अनुहारमा लागेको उनले बताएकी छन् । आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारको लागि अस्पताल पुर्याएको उनले बताइन् । उनकाे बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिल्ने अवस्थामा छ ।

घाइते कार्कीले भनिन्, “पानीको फोहोरा एक्कासि आयो । म छेउतिरै थिए । एक्कासि अनुहारमा लाग्यो । म ढलेँ । एक जना शिक्षिका आएर प्रहरीलाई खबर गरिदिनुभयो । त्यसपछि अस्पताल लैजानुभयो । दाहिने आँखाले देख्दै देख्दैन । देब्रे आँखाले हेर्न मिल्छ । दाहिने आँखा खोल्नै मिल्दैन ।” 

उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठका अनुसार आँखाभित्र रगत जमेको कारणले भिजन एकदमै कम रहेको हो । चोटको कारण आँखाको प्रेसर पनि बढेको उनले बताइन् ।

घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो । पत्रकार महासङ्घले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ ।

महासङ्घले घाइते पत्रकार कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update