News 24 Television
रूसी मेयर इगोर ललितपुरमा,  भन्छन्- 'यहाँ मन्दिर मास्टर पिस छन्'

ललितपुर । ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम भएको रूसको उलान उदे सहरका मेयर (नगर प्रमुख) इगोर सुतेनकोभ ललितपुर आएका छन् । आफ्नो प्रतिनिधिमण्डलसहित नेपाल आएका उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध कायम गर्न झण्डै डेढ महिना अघि उलान उदे सहर पुगेको स्मरण गर्दै दुई सहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरु आदान प्रदान गर्न सक्ने बताए । उनले भने, कला संस्कृति र सम्पदाको क्षेत्रमा हाम्रो असल अभ्यास उलान उदेले सिक्न सक्छ , ‘हामीले प्रविधि शिक्षालगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं ।’ डेढ महिना अघि ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डलसहित रसिया गएका थिए । 

उलान उदे सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्ध महत्वपूर्ण उपलब्धि भएको बताउँदै दुई सहर बीचका जनताको समृद्धि र उन्नतिका लागि यो सम्बन्ध ऐतिहासिक भएको प्रष्ट पारे । 

महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक पटक आउन अनुरोध गरे । ललितपुर महानगर प्रमुख महर्जनले सम्पूर्ण ललितपुर महानगरबासीको प्रतिनिधित्व गर्दै रसियाको उदान उदे शहरका नगर प्रमुख र उहाँको प्रतिनिधिमण्डललाई ललितपुरमा स्वागत गर्न पाउँदा औधी खुशी लागेको बताए । 

88dd9100-a0f5-42f7-b1a9-2cb308494ff3-1745921153.jpg
भगिनी सम्बन्ध (सिस्टर सिटी)को अर्थ नेपालीमा अर्थात नेपालमा पारिवारिक सम्बन्ध भएको प्रष्ट पार्दै नगर प्रमुख महर्जनले भने, ‘अब हाम्रो दुख सुख साझा भए, दुख पर्दा पनि बाडौलाँ , सुख पनि बाडौलाँ ।’ विश्वभर प्रसिद्ध रातो मन्छिन्द्रनाथको रथयात्राको पूर्व सन्ध्या भगिनी सम्बन्ध कायम भएको सहरका मित मेयर ललितपुर महानगर आउनु महत्वपूर्ण भएको उनले प्रष्ट पारे । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम भएको खुशी व्यक्त गरिन् । उनले भनिन् , ‘हाम्रो सम्बन्ध धेरै पुरानो हो, रसियाबाट अनुसन्धानका लागि विद्धानहरु नेपाल आउने, नेपालीहरु पढ्न रसिया नेपाल जाने क्रम धेरै अघिदेखिो हो ।’

बज्राचार्यले सम्पदा, संस्कृति, प्रविधिसँगसँगै अध्ययनका लागि विद्यार्थी आदान प्रदान कार्यक्रमलाई अघि बढाउन सकिने बताइन् । उनले भनिन् , ‘अन्य असल अभ्याससँगसँगै , विद्यार्थी आदान प्रदानले अपनत्व बढाउँछ , यो प्रभावकारी हुन्छ ।’

उलान उदे सहरमा नगर प्रमुख इगोर सुतेनकोभले रसिया र नेपालबीचको सम्बन्ध धेरै पुरानो भएको बताउँदै ललितपुर र उलान उदे सहरबीचको भगिनी सम्बन्धले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग गर्ने बताए । विभिन्न विषयमा अध्ययनका लागि विद्यार्थी आदान प्रदान कार्यक्रम निकै प्रभावकारी हुने उनले प्रष्ट पारे ।

उनले भने, ‘चिकित्सा शिक्षा, कृषि विज्ञान लगायतका क्षेत्रमा हामी काम गर्न सक्छौं ।’ उनले अन्य असल अभ्यास पनि आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

ललितपुरको सुन्दरताबाट आफू प्रभावित भएको बताउँदै ललितपुरमा रहेका ऐतिहासिक मन्दिर आफूलाई एकदमै राम्रो लागेको बताए । उनले भने, ‘ यहाँका मन्दिर मास्टर पिस छन्, सहर एकदमै सुन्दर छ । ’ उलान उदेका नगर प्रमुख इगोर सुतेनकोभले हाम्रो मित्रता भविष्यको लागि ऐतिहासिक हुने बताए । 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले उलान उदे सहर र ललितपुर महानगरबीच धेरै क्षेत्रमा एकरुपता रहेको बताइन् । दुरीका दृष्टिले ललितपुर र उलान उदे टाढा भएपनि भावनात्मक रुपमा नजिक भएको बताइन् । उनले भनिन्, ‘नेपाल र रसियाको सम्बन्ध अझै बलियो बनाउने आधार बुद्धिजम हो ।’

रातो मच्छिन्द्रनाथको रथ यात्राको पूर्वसन्ध्यामा ललितपुरले भगिनी सम्बन्ध गाँसेकोसहरको नगर प्रमुख र उहाँको प्रतिनिधिमण्डल नेपाल आइपुग्नु महत्वपूर्ण संयोग भएको बताइन् । उनले थपिन् , ‘रातो मच्छिन्द्रनाथको रथ र यात्राले ललितपुरलाई बुझ्न अझै सहयोग गर्छ ।’ कार्यक्रममा महानगरका प्रवक्ता राजु महर्जन, वडा न.२० का वडा अध्यक्ष चन्द्र महर्जन, वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठलगायतका उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update