News 24 Television
केआइआइटी घटना : गम्भीर कदम चाल्न सरकारलाई निर्देशन

काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाबारे राष्ट्रिय सभाले सरकारलाई गम्भीर निर्णय लिन निर्देशन दिएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै सांसदहरुले केआइआइटीका लागि नेपाली विद्यार्थी एनओसी बन्द गर्न माग गरे । साथै केही महिनाभित्रै भएको दुई जना नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार गम्भीर भएर कूटनीतिक पहलमार्फत अनुसन्धान गराएर पीडित न्याय दिलाउन समेत माग गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले केआइआइटीमा नेपाल सरकारले एनओसी दिन बन्द गरियोस् भन्ने माग गरे । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंह र नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साहले पनि केआईआईटीमा नेपाली विद्यार्थीहरू सुरक्षित नभएकाले एनओसी दिन नहुने माग राखे । सिंहले नेपाल सरकारले समयमै गम्भीर भएर उचित नीति अवलम्बन नगर्ने हो प्रकृति र पृसाको नियति फेरि दोहोरिने बताए । सांसद साहले केआईआईटीमा नेपाली विद्यार्थीहरू सुरक्षित नभएकाले एनओसी दिन नहुने माग राखिन् । उनले नेपाल सधैँ अन्याय सहन तयार नरहेको भन्दै केआइआइटीमा नेपाली विद्यार्थी नपठाउन अभिभावकलाई समेत आग्रह गरिन् ।

आइतबार राष्ट्रिय सभामा बोल्ने अधिकांश सांसदहरुले उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराए । केआइआइटीका साथै बेलायतमा अध्ययनरत छात्रको मृत्युबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली विद्यार्थी अध्ययनरत भारतीय कलेजहरुमा पूर्ण सुरक्षाको प्रत्याभुतिका लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने काँग्रेस सांसद कृष्णबहादुर रोकायाको माग छ । माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलवासेले केआइआइटीमा स्थानीय विद्यार्थीहरुले प्रतिष्पर्धा गर्न नसकेपछि राम्रो अध्ययन गर्ने विदेशी विद्यार्थीलाई बेपत्ता पार्ने तथा हत्या गर्नेसम्मका घटना गरेको भन्दै सरकारलाई तत्काल आवश्यक कदम चाल्न माग गरिन् । 

सांसदहरुको ध्यानाकर्षण र मागपछि राष्ट्रिय सभाका अध्यक्ष अध्यक्ष नारायण दाहालले केआइआइटीमा मृत्यु भएकी प्रिसा साहको घटनाबारे निष्पक्ष छानविन गरी उचित न्याय प्रदान गराउन सरकारलाई निर्देशन दिए । उनले एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद् पक्ष भएको भन्दै नेपाल र भारत दुवै देशले कुटनैतिक माध्यममार्फत यस्ता घटना दोहोरिन नदिन गम्भीर कदम चाल्नुपर्ने बताए ।

सर्लाहीको कविलासी नगरपालिका– ८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा साह बिहीवार बेलुका केआइआइटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बिहान मात्रै घरमा फोन गरेर घर फर्कनका लागि टिकट काटिमागेको र बेलुका आफै मृत भेटिएपछि घटना रहस्यमय रहेकोले निष्पक्ष छानबिनको माग राखिँदै आएको छ । प्रिसा उक्त कलेजमा कम्प्युटर साइन्स विषय पढ्दै थिइन् । केही महिनाअघि उक्त कलेजमा अर्की नेपाली छात्रा प्रकृति लम्साल पनि झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रकृतिको न्यायका लागि प्रिसा लगायत विद्यार्थीहरु सडकमा ओर्लिका थिए भने कलेज प्रशासनले उनीहरुमाथि दमन गरेर निकाल्न खोजेको थियो । यसप्रकारका घटना दोहोरिन थालेपछि त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीमा समेत त्रास छाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update