News 24 Television
दार्चुलावासीको वर्षौदेखिको एउटै गुनासो, आफ्नै देशमा सडक कहिले बन्छ ? 

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका –१ छाङरु र तिकंर गाउँमा बसोबास गर्दै आएका सौका समुदायका मानिसले आफ्नो थातथलोबाट बसाई सर्न थालेका छन् । 

ब्याँसी भाषामा कुञ्जा भनिने बसाईसराईमा उनीहरु बर्षमा ६ महिना व्याँस र ६ महिना दार्चुला सदरमुकाममा बस्ने गर्दछन् ।  गर्मीयाम सुरु भएसँगै उनीहरूले आफ्नो थातथलो सार्न सुरु गरेका हुन् । तर उनीहरुलाई नेपालबाट बाटो नहुँदा भारत हुँदै आवतजावत गर्नुपर्ने बाध्यता छ । बर्षौदेखिको उनीहरुले भोगिरहेको समस्या समाधानका लागी सरकार भने निरिह छ । 

नेपालको एकमात्र सौका समुदायले हरेक बर्ष भारतीय एसएसवीको मानशिक ज्यादति सहँदै दार्चुलास्थित पुलघाट, छियालेक र सितापुल हुदैं ६ दिनको पैदल यात्रा तय गरी कुन्जा अर्थात बसाइसराई सर्ने गरेका छन् । 

दार्चुलाको सदरमुकाम खलंगाबाट २८ कोष उत्तरमा पर्ने ३२०० मिटर उचाइको छाङरु र ३७०० मिटर उचाइको टिंकर गाउँका सौका समुदाय हरेक वर्ष ६ महिना सदरमुकाम तिर झर्ने गर्छन् भने ६ महिनामात्रै गाउँमा बसोबास गर्ने गर्छन् ।

दार्चुलामा मात्रै रहेका सौका समुदायको छाङरु गाउँमा १ सय ४० र तिंकर गाउँमा ७१ जनाको बसोबास रहेको छ । हाल उक्त गाउँहरुमा लगभग २४० जनासम्म मात्रै बसोवास गरिरहेको तथ्यांक छ भने बाँकी तराई लगायतका स्थानमा बसोबास गर्छन् ।  गर्मीयाम सुरु भएसंगै दुइवटै गाउँका नागरिक पशुचौपाया सहित सदरमुकाम खलंगा आउने गर्दछन् । तर, यी नागरिकहरु सदरमुकामसम्म आउने बाटो नहुँदा भारतको बाटो भएर दार्चुलाको खलङ्गा आउनुपर्ने बाध्यता छ । 

आफ्नै गाउँ जान प्रत्येक वर्ष राज्यलाई नगद रु.५० तिर्नुपर्छ भने पास बनाउँदा कम्तिमा ५,६ वटा फोटो पनि चाहिन्छ । एकजना छाङरु तिंकर वासीलाई वार्षिक कम्तिमा २०० रुपैयाँ त पास बनाउन मात्रै खर्च हुन्छ भने पशु चौपायाको समेत प्रत्येक वर्ष भारतलाई एक चौपाया बराबर भारतीय रुपैयाँ ५० तिनुपर्ने बाध्यता छ । 

छाङरु÷तिकंरवासीले दुःख झेल्नुको मुख्य कारण नेपाल तर्फको बाटो नहुनु हो । उनीहरुले भोगिरहेको यो समस्याको बारेमा राज्यको हरेक निकाय जानकार छ ।

सडक बनाउनका लागि दार्चुलाबाट पटक पटक निर्वाचित भएका संघीय सांसद दिलेन्द्रप्रसाद बजेटको अभाव हुन दिन्न भन्थे । सडकका लागि छुट्याइएको ९ करोड रुपैयाँ बजेट चैत महिनामै सकिएको सेनाले जनाएको छ । 

त्यसैगरि घोरेटो बाटो निर्माणका लागि विनियोजित ५ करोड ५० लाख बजेट वैशाखको २१ गते हुदाँ पनि टुंगो लागेको छैन । तिंकर सडक निर्माणका बारेमा र नेपालको तर्फबाट पैदलबाटो समेत नभएको बारे संसदमा २०८१ चैत ७ गतेका दिन रास्वपा सांसद विनिता कठायतले सोधेको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले पैदलबाटो धमाधम निर्माण भइरहेको जवाफ दिएका थिए । 

दार्चुलास्थित विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधीहरुले छाङरु तिकंरवासीको समस्याको समाधान नेपाल तर्फ सडक निर्माण गर्नु पर्ने भनेर पटक पटक भने पनि बजेट अभावका कारण तिंकर सडक अलपत्र अवस्थामा छ । 

पैदल बाटो निर्माणको लागी यसबर्ष नै बजेट विनियोजन भएपनि कानुनी झंझटका कारण ढिलाइ भएको भन्दै असारसम्म पैदलबाटो निर्माण हुने नेकपा एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घती भनाइ छ । 

नेताहरुले जे जस्ता आश्वासन दिएपनि दार्चुलाको छाङरु तिकंरका नागरिक अहिलेपनि भारतकै बाटो भएर अनेक दुव्र्यव्यवहार खेप्दै आफ्नै देशको एक भेगबाट अर्को भेगमा जान बाध्य छन् । नेपालतिर बाटो नै नहुनु, दुई देशवीच समन्वय नहुनु, र वर्षौदेखिको समस्या समाधान गर्न नसक्नु सरकारको कमजोरी हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update