
काठमाडौँ । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगका साथै अन्य स्वास्थ्य समस्याबाट पीडित नेपालको मंगलबार अपराह्न नर्भिक अस्पतालमा निधन भएको जनाइएको छ ।
स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई नर्भिकको आइसीयूमा राखिएको थियो । स्वास्थ्य समस्याकै कारण पछिल्लो समय उनी राजनीतिक गतिविधिबाट ओझेल थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपालको निधनमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर उनको औपचारिक श्रद्धाञ्जली सभा वा कार्यक्रम नगरी दाहसंस्कार गर्न लागिएको हो । नेकपा एमालेका नेता रहेका नेपालको शव पार्टी कार्यालयमा नराख्ने र औपचारिक श्रद्धाञ्जली कार्यक्रम नगर्ने उनको परिवारले निर्णय गरेको छ । स्व. नेपाल स्वयंकै इच्छाअनुसार परिवारले कुनै औपचारिक श्रद्धाञ्जली सभा नगर्ने जनाएकाे छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म औपचारिक रुपमा नेपालप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छैनन् । औपचारि कार्यक्रम नराखिने भएपछि ओली उनको अन्तिम बिदाइमा समेत सहभागी नहुने जनाइएको छ ।