News 24 Television
नेपालमा विकास नै नभएको हो त ? यसो भन्छन् सांसद र मन्त्री 

काठमाडौँ । जेन–जी अर्थात् ‘जेनेरेसन जेड’ (दोस्रो नयाँ पुस्ता), यो एक वर्तमान विश्वको नयाँ अवधारणा हो, जसको चर्चा नेपालमा पनि भइरहेको छ । अहिले प्रायः नेता, सांसद, नीति निर्मातादेखि बौद्धिक वर्गले जेन–जी शब्द उच्चारण गर्ने गरेका छन् । सन् १९९७ देखि २०१२ बीचमा जन्मे–हुर्केका सबै युवा–पुस्तालाई जेन–जी (दोस्रो नयाँ पुस्ता) भनिएको छ । यो अवधारणा अमेरिकन अनुसन्धान संस्था ‘पेउ रिसर्च सेन्टर’ का माइकेल डिमोकले एउटा लेखमा राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रको आधारहरू प्रस्तुत गर्दै अघि सारेको अवधारणा हो ।

यस पुस्ताले वृद्ध अघिल्लो पुस्ताको तुलनामा व्यापक सूचना प्रविधि र एआईको प्रयोग गर्न पाएको छ भने विकसित स्वास्थ्य सेवा, यातायात सेवा, विज्ञानका नवीन खोजका लागि अघिल्ला पुस्तालाई धन्यवाद दिँदै त्यसको थप विकास तथा विस्तारमा सघाउन सुरु गरिसकेको छ । तर नेपालमा यो पुस्ता नैराश्य र पलयानको सिकार भइरहेको छ र अघिल्लो पुस्ता (वृद्ध नेता)लाई धिक्कार्दै बाँचिरहेको देखिन्छ । 

यसै क्रममा रास्वपा सांसद निशा डाँगीले जेन–जी पुस्ताले विकासमा फड्को मार्न सक्ने स्थिर सरकारको चाहना राखेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न ‘डेट एक्सपायर’ नेताहरुले नसक्ने बताइन् । यसका लागि नयाँ पुस्तालाई नै नेतृत्व र विकास गतिविधिमा अगाडि सानुपर्ने उनको धारणा छ । वृद्ध (पाका) नेताहरुबाट अब देश विकास हुने आश मरिसकेको भन्दै यनले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेन–जी पुस्ताले चाहेको बताइन् । यो पुस्ताले केवल डिग्री नभई गुणस्तरीय शिक्षा चाहेको, रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति तथा सीप विकासका तालिम चाहेको उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा केही भएन र अब पनि हुँदैन, यो देश बन्दैन भन्ने खालमा चरम निराशावादी स्वरहरु देखिएका छन् । यसले जेन–जी पुस्तालाई फ्रस्टेसन बनाउनुका साथै विदेश पलायनको लहर बढाएको छ । यद्यपि सत्ता र नीति निर्माण तहमा रहेका नेता, मन्त्री, सांसद भने देश विकासमा अघि बढेको दाबी गर्छन् । काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा केही विकास भएन भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यस्तो भन्नेहरुलाई मेचीदेखि महाकालीसम्म भ्रमण गर्न आग्रह गरे । मंगलवारको संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले प्रयाप्त विकास नभए पनि सीमित स्रोत र साधनबाट सक्दो विकास भएको दाबी गरे । यद्यपि विकासले जनताको चाहना र आवश्यकताहरु पूरा गर्न नसकेको उनी स्वीकार्छन् । विकासै नभएको भन्ने कुरा पनि निरर्थक र झुटो रहेको उनको भनाइ छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु  नेपाल विरोधी रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले यस्तो बताए । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको भन्दै मन्त्री खड्काले देश बनाउन सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताए । नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन उनको आग्रह छ । २०७८ को बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पु¥याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ 

यद्यपि नेपालमा विकास निर्माणमा हुने ढिलासुस्ती र लापरवाहीबारे भने मन्त्री खड्काले केही बोलेनन् । सिन्धुपाल्चोककै कुरा गरौँ, २०७८ को बाढीको क्षतिपूर्ति र पुनःनिर्माण कार्य २०८२ पुग्दा (४ वर्षमा) पनि सम्पन्न भएको देखिएन । विश्व तीव्र विकास र समृद्धिमा लम्किरहेको देखेको जेन–जी पुस्ताले हाम्रा ‘डेट एक्सपायर’ नेता–मन्त्रीका कुरा कसरी ग्रहण गर्ने ? 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update