
काठमाडौँ । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरु काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन स्वरुप उनीहरुले सोमवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्नुका साथै हातमा कालोपट्टी बाँधेर तीन घण्टा भन्सार जाँचपासको काम रोकेका थिए ।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि जेठ १० गते राति १० बजेको समयमा भन्सार परिसर भित्रै कुटपिट भएको थियो । प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि नगर प्रहरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका प्रहरीले कुटपिट गरेका थिए ।
तिम्सिनामाथि कुटपिटमा संलग्नलाई कारबाही तथा कर्मचारीमाथि शान्ति सुरक्षाको माग गर्दै आफूहरु आन्दोलनमा उत्रिएको महासंघ केन्द्रीय सदस्य उमेश घिमिरेले बताए । शान्ति सुरक्षाको प्रत्याभूति नभए आफुहरु कडा विरोधमा उत्रिने समेत महासंघको चेतावनी छ ।