
वीरगज, पर्सा । वीरगञ्जमा राष्ट्रिय विभूती तथा नेपाल संवतका प्रवर्तक शंखधर शाख्वा पार्क संचालनमा आएको छ । बालबालिकाहरुको खेलकुद गतिविधिका लागी पार्कको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त पार्कको शनिबार संघीय खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका थिए । नेपालीहरुलाई ऋणमुक्त गरेका शाख्वाको नामबाट पार्क संचालनमा आएपछि वीरगञ्जका नेवार समुदायमा खुशीयाली छाएको छ । उनीहरुले बाजासहित पार्क अवलोकन गर्न आउनेहरुलाई स्वागत गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर शाख्वा पार्क संचालनमा ल्याएको छ । लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेको पार्कलाई वीरगञ्ज महानगरपालिकाले संचालनमा ल्याएको हो । यस पार्कको संचालनले स–साना बालबालिकाहरुलाई खेल्न, रमाउनको साथै साँझ बिहान घुमफिर गर्नलाई सजिलो भएको छ । बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले बालबालिकामैत्री सूविधासम्पन्न पार्कको निर्माण गरेको हो ।
पार्कको निर्माणले वीरगञ्जका नेवार समूदायमा भने छुट्टै रौनकता छाएको छ । राष्ट्रिय विभूति तथा नेपाल संबतका प्रवर्तक शंखधर शाख्वाको नामबाट पार्क संचालनमा आएपछि नेवारहरु थप उत्साहित देखिन्छन् । वि.सं. ९३६ मा शाख्वाले नेपालीलाई ऋण मोचन गरिदिएको हुँदा नेपाल संवत प्रचलनमा आएको इतिहासकारको भनाई छ ।
वीरगञ्जले थुप्रै गौरवपूर्ण इतिहास बोकेको छ । स्व.तेज बहादुर आमात्य, गणेशमान सिंहलगायत विर सहिदले राजतन्त्रलाई परास्त गरी प्रजातन्त्र स्थापित गर्न आफ्नो बलिदान दिएका थिए । यस्तै वीरगञ्जको पहिलो निर्वाचित मेयर केशर प्रसाद मान्नधर पनि नेवार समूदायकै थिए । तत्कालिन वीरगञ्ज नगरपालिका कार्यालयको स्थापना गरी व्यवस्थित बनाउन उनको भूमिका अविश्मरणीय छ । यस्तै शिक्षा क्षेत्रमा समेत उनको ठूलो योगदान रहेको छ ।
यसरी वीरगञ्जको विकासका लागी अग्रणी स्थानमा रहेको नेवार समुदायको परिचय वा चिनाउने कुनै माध्यम थिएन । तर वीरगञ्ज महानगरपालिकाले पार्कको नाम शंखधर शाख्वा नामाकरण गरेर नेवार समुदायको भावनालाई सम्मान गरेको छ ।
उद्धघाटन कार्यक्रममा वीरगञ्जका नेवारहरुले आफ्नो सांस्कृतिक पोशाक र धिमे बाजासहित आफ्नो खुसी साटासाट गरेका थिए । यस्तै पार्क अवलोकन गर्न आउने आगन्तुकहरुलाई मिठो नेवारी परिकार यमरी समेत वितरण गरेका थिए । पार्कमा झिलीमिली बत्तीसंगै खेलकुद तथा व्यायाम गर्ने सामाग्रीहरुको व्यवस्थाले बालबालिकाहरुको आवश्यकतालाई पुरा गर्ने स्थानीयहरु बद्धिजिवीहरुको भनाई छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा अवस्थित उक्त पोखरीलाई माईराम पोखरी नामले चिनिने गरिन्थ्यो । गत २०२२ सालको नापीमा यो पोखरी ४ विघा १३ कठ्ठा क्षेत्रपÞmलमा फैलिएको थियो । तर संरक्षणका अभावका कारण चारैतिरबाट अतिक्रमणमा परि पोखरी १८ कठ्ठामा खुम्चीन पुग्यो । मझौला शहर एकिकृत वातावरणीय सुधार आयोजना अन्तरगत एशियाली विकास बैंकको सहयोगमा सो जग्गामा करिब ४ करोडमा निर्माण गरिएको चिल्ड्रेन पार्कको वीरगञ्ज महानगरपालिकाका तत्कालिन मेयर विजय कुमार सरावगीले २०७५ सालमा उद्द्धाटन गरेका थिए । अधुरो पार्क उद्घाटन गरी अलपत्र पारेको भन्दै सर्वत्र आचोलना समेत भएको थियो ।
तर वीरगञ्ज महानगरपालिकाको मेयर पदमा राजेशमान सिंह निर्वाचित भएर आए लगतै सार्वजनिक जग्गा अतिक्रमण मुक्त गारउने योजना अनुरुप गत २०७९ साल कात्तिकमा पोखरी छेउका बासिन्दालाई जग्गाको निस्सा उपलब्ध गराउन आग्रह गर्दा केहीले मात्रै निस्सा पेश गरेका थिए । निस्सा पेश गर्न नसक्नेहरुको जग्गा र संरचना डोजर लगाएर नगर प्रहरीको रोहबरमा भत्काइएको थियो । हाल करिब २ विघा जग्गा नगरपालिकाको स्वामित्वमा ल्याउन सफल भएको र बाकीमा अतिक्रमण हटाउन अदालती प्रकिया चलिरहेको छ ।
करिब १ करोड २५ लाख रुपैयाँमा निर्माण गरिएको पार्कलाई अझ व्यवस्थित र हरियाली बनाउन बाकी रहेको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए । उनले पार्कको संरक्षण कार्यमा महानगरपालिकाले कुनै लापहरवाही नगर्ने बताए । पार्कको पर्खालहरुमा विभिन्न धार्मिक मठमन्दिरहरुको आकर्षित चित्रहरु कोरिएको छ । चित्रले पार्कमा केवल सौन्दर्यकरणको परियोजना मात्र नभई, वीरगञ्जबासीको सामुहिक जीवनशैली र सांस्कृतिक पहिचानसंग जोडिएको विषयलाई समेत दर्शाउन खोजिएको छ ।