News 24 Television
न्यायाधीश डा. खुशीराम थारुलाई मोसो प्रहार गर्ने तीन जना पक्राउ

काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीवार इजलासमै कालोमोसो छ्यापिएको छ । 

नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

प्रहरीकाअनुसार सेवाग्राहीको भेषमा नेकपा (बहुमत) का कार्यकर्ता अदालत प्रवेश गरी न्यायाधीशको इजलासमा पुगेका थिए । यो घटना नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने निर्णयसँग जोडिएको छ । न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिने फैसला गरेको थियो । 

आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इँटा भट्टामा जलाएको गम्भीर आरोप लागेको थियो । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि उनी रिहा भएका थिए । तर रिहाइ लगत्तै मस्तिष्कघातका कारण उनी अस्पताल भर्ना भएका छन् । 

आलमलाई सफाइ दिने निर्णयपछि न्यायाधीश थारू र महर्जन विवादमा परेका छन् । उनीहरूमाथि न्याय परिषद्मा उजुरी समेत परेको छ । यो घटनाले न्यायिक स्वतन्त्रता र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update