
काठमाडौँ । स्थानीय तह तथा पालिकाहरुले नगर तथा वडास्तरमा योग तथा व्यायामशाला निर्माणलाई प्राथमिकता दिन थालेका छन् । नागरिकको स्वास्थ्य जीवन र सन्तुलित दिनचर्याको लागि योग व्यायाम तथा पार्क एवं खेलकुद मैदानहरु आवश्यक भएको स्थानीय वासीहरुले जोड दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मका राजनीतिक नेता कार्यकताहरुको सकारात्मक सोच, चिन्तनको विकास गर्न योग ध्यान, प्राणायाम, व्यायाम आवश्यक भएको संघीय संसद तथा संसदका अर्थ समितिका सभापति सन्तोेष चालिसेले बताए ।
कार्यक्रममा स्थानीय क्षेत्रमा सामाजिक कार्य तथा योग प्रवद्र्धनमा योगदान गरेको भन्दै न्यूज२४ टेलिभिजनका पत्रकार नवराज चालिसेलाई रामनगर उर्जाशील समूह तथा स्थानीय महिला समूहले सम्मान प्रदान गरेको थियो ।
रामनगर उर्जाशील समूहले आयोजना गरेको एक दिवसीय बृहत योग शिविर कार्यक्रमको काठमाडौं महानगरपालिका ६ नं वडा अध्यक्ष भुवन लामाले उद्धघाटन गदै स्थानीय तहमा योग तथा व्यायामशालाको विकास गरी स्थानीयवासीको स्वास्थ्यका विकासमा काम भइरहेको बताए । स्थानीयवासीको स्वास्थ जीवनको लागि स्थानीय तह प्रतिवद्ध रहेको अध्यक्ष लामाको भनाई छ । वडा सदस्य नरेन्द्र थापा (भगवान) ले नगरवासीको स्वास्थ्य र सन्तुलित जीवनको लागि आवश्यक काम गर्ने योजनाहरु रहेको विश्वस्त पारेका छन् ।
बागमती प्रदेश काठमाडौ ३ को प्रदेश सभापति श्रीराम चालिसेले स्थानीय तहबाट संचालित योग, ध्यानशिविर तथा व्यायामशालाहरुले आम जनताको स्वस्थ र सन्तुलिन जीवनमा सहयोग पुग्ने हुँदा स्थानीय तहको सहयोग र सहकार्य आवश्यक भएको बताए । वडानं ६ का महिला सदस्य लिला विसंखले स्थानीय महिलाहरुको विकासमा वडा स्तरमा विभिन्न रचनात्मक कार्यहरु भइरहेको बताइन् ।
जीवन विज्ञानका योग प्रशिक्षक सन्तोष विष्ट र सन्तोष खड्काले स्थानीय तहहरुले योग तथा ध्यान केन्द्रहरुको निर्माण गरी जनताको स्वास्थ्यमा ध्यान दिन सक्नु पर्ने बताउँदै योग प्रयोगशालाको अभावको कारण समस्या परेको बताए ।
रामनगर उर्जाशील समूहका अध्यक्ष सम्झना घिमिरेले योग तथा ध्यानकेन्द्रको लागि निश्चित स्थानको अभाव रहेको हुदाँ स्थानीय तहवाट सहयोगको माग राखिन । कार्यक्रममा उर्जाशील समूहका उपाध्यक्ष ज्योती न्यौपाने र सचिव प्रभा न्यौपानेले समूहको कार्यक्रम र योजनाको वारेमा प्रकाश पार्दै स्थानीय महिलाहरूलाई याेगशाला, रोजगारी तथा उद्यमशीलता आवश्यक रहेको बताए ।सद्गुरु बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कोपिला अधिकारीले स्थानीय महिला तथा गृहणीहरुको स्वास्थ्य र सन्तुलित जीवनमा योग र व्यायाम महत्त्वपूर्ण हुने हुँदा वडास्तरबाट सहयोग आवश्यक भएको बताइन् ।