
ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ बिगुटारमा तरकारी उत्पादन संगै स्थानीय जातका आलु खेतीपनि उल्लेख्य मात्रामा हुँदै आएको छ । बिगुटारका ३५ भन्दा बढि घरधुरी एउटै कृषक समुहमा आवद्ध भई सामुहिक खेती प्रणालीमा लागेका हुन् । उनीहरुले वर्षमा २ पटकसम्म आलु उत्पादन गर्दै आएका छन ।
अझ आधुनिक प्रविधियुक्त आलु भण्डारण गृह (रष्टिक स्टोर) निर्माण भएपछि ब्यवसायिक खेतीमा लागेका यहाँका किसानहरु निकै उत्साहित भएका छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ बिगुटक्सारका कृषक रिञ्जी शेर्पा लामो समयदेखि आलु खेती गर्दै आएका हुन् । आलु उत्पादन राम्रै हुने हुँदा यसले जिविकोपार्जनमा समेत निकै सहयोग पुगेको छ । तर आलुको बिउ भण्डारण गर्ने उपयुक्त स्थान नभएका कारण गत वर्ष परम्परागत बिउ भण्डारण गर्दा ठुलो परिमाणमा आलु कुहिएर नष्ट भयो ।
केही बँचेका आलु बिउका लागि उपयुक्त भएपनि अपुग हुँदा शेर्पा बाहिरबाटै बिउ ल्याउन बाध्य भए । तर यस वर्ष भने आलुको बिउ भण्डारणका लागि आधुनिक प्रविधिको आलु भण्डारण गृह निर्माण भएकाले यस्तो समस्या नदोहोरिने उनको विश्वास छ ।
बिगुटक्सारकै अर्की कृषक कुमारी कट्वाले पनि आलु बिउ भण्डारणको अभावका कारण यस्तै कठिनाई झेल्दै आएकी थिइन् । तर अहिले भने कृषकहरुकै सामुहिक प्रयास र साझेदारीमा निर्माण भएको आलु भण्डारण गृहले उनलाई निकै राहतको महशुस गराएको छ । आलुको बिउ सुरक्षित हुने र भविष्यमा अझ बढी आलु उत्पादन गर्न सकिनेमा उनि ढुक्क छिन् ।
बिगुटक्सारमा यसै आर्थिक वर्षमा झन्डै साढे १७ लाख रुपैयाँ लागतमा योे आलु भण्डार गृह बनेको हो । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तरगत निर्माण भएको आधुनिक प्रविधिको उक्त आलु भण्डारण गृहमा परियोजना कार्यान्वयन एकाईको १५ लाख अनुदान र बाँकी लाभग्राहीको साझेदारी रहेको छ । करिब ८ टन क्षमताको उक्त भण्डारण गृहमा लामो समयसम्म आलु सुरक्षित राख्न सकिन्छ ।
हाललाई स्थानीय एउटा कृषक समुहको लागि निर्माण गरिएको यो संरचनाले आलु उत्पादनमा मात्र होइन आर्थिक आत्मनिर्भरतातर्फ पनि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । यस्ता संरचना अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिए कृषकले भोगिरहेका समस्या समाधानमा सहयोगी साबित हुनेछ ।