
वीरगञ्ज, पर्सा । वीरगञ्जमा सांस्कृतिक तथा एतिहासिक गवाई माईको तेश्रो रथ यात्रा भव्यताका साथ सम्पन्न भएको छ । शक्तिपिठ गहवामाई मन्दिरको १३ वर्ष पूरा भएको उपलक्ष्यमा वीरगञ्जमा रथयात्रा निकालिएको हो ।
श्री गहवामाई तिर्थ विकास समितिको आयोजनामा शुक्रबार बिहान निकालिएको रथ यात्रामा हजारौँ भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रामा बारा, पर्सालगायत छिमेकी मुलुक भारत विहारबाट पनि दर्शनार्थीहरुको बाक्लो उपस्थिति थियो ।
वीरगञ्जस्थित गहवामाई मन्दिर प्रांगणबाट निकालिएको विभिन्न देवीदेवताको झाँकी र बाजागाजासहितको रथयात्रा घण्टाघरबाट रेल्वेरोड हुँदै छपकैयाबाट आदर्शनगर भएर पुनः गहवामाई मन्दिरमा आएर समापन भएको थियो । सो अवसरमा विभिन्न संघसंस्थाले रथयात्रामा सहभागी भएका श्रद्धालु ,तथा भक्तजनहरुका लागी चिसोपानी तथा सरवत वितरण गरेका थिए ।
विगत तिन वर्षदेखि आयोजना हुँदै आएको गहवामाईको रथयात्रा वीरगञ्जबासीका लागि पूर्वको रुपमा परिणत भएको समितिका आयोजक श्याम कुमार पोखरेलले बताए । उनले रथयात्रा सभ्य र भव्य रुपमा सम्पन्न गरेकोमा सबैप्रति आभार व्यक्त गरे ।
यता वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन रथयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले यसका लागी महानगर सदैव सहयोग गर्ने तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
समितिका आयेजक पोखरेलका अनुसार रथयात्राका लागी २५ लाख अनुमानित खर्च रहेको छ । उनले आफूहरुको उद्देश्य सामाजिक एकता, एकापसमा मेलमिलाप र सांस्कृतिको संरक्षण रहेको दाबी गरे ।
यस्तै रथयात्राका लागि स्थानीय प्रशासन सुरक्षा व्यवस्था कडा पारेको थियो । पछिल्लो समय वीरगञ्जमा समेत साम्प्रदायिक तनाव बढ्दै गएको घटनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई हाईअलर्टमा राखको थियो ।
रथयात्राको क्रममा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी उपरीक्षकहरु समेतले निगरानी राखेका थिए ।
रथयात्राको पुर्वसंध्यामा वीरगञ्म्जमा रक्तदान कार्यक्रम गरिएको थियो । पहिलोपटक वीरगञ्जमा २०८० सालमा गहवामाईको रथयात्रा निकालिएको थियो ।