
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफु राजनीतिक रुपमा रिटायर्ड हुन थालेको भन्दै कांग्रेसलाई थप बलियो बनाउने इच्छा रहेको बताएका छन् ।
कांग्रेसको विधानले दुई कार्यकालभन्दा धेरै समय सभापति बन्न रोकेको स्थितिमा देउवाले अब रिटायर्ड हुनेबेला कांग्रेसलाई बलियो बनाउनेदेखि पार्टी महाधिवेशनबारेका विषयमा बोलेका हुन् ।
सभापतिका रुपमा दोस्रो कार्यकालको अन्तिममा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा अन्य नेताहरुभन्दा कम बोल्ने नेतामा पर्छन् । झनक्क रिसाउने, कम बोल्ने तर उद्देश्यप्रति दृढ रहने उनी कांग्रेसलाई बलियो बनाएको हेर्न चाहन्छन् । देउवाले चितवन पुगेका क्रममा भनेका छन, पार्टी बलियो बनाउन मन छ । हाम्रो पार्टीको एकले अर्कोलाई हराउने पद्धति चिर्न मन छ ।
देउवा यतिमै रोकिएका छैनन् । पार्टी महाधिवेशन समयमै नहुने शंका र चर्चालाई समेत उनले खुला रुपमा नकारेका छन् । पार्टी महाधिवेशन समयमै हुनेमा आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।
कांग्रेसमा नेताहरुले खलेआम षडयन्त्र गर्ने, चुनाव हराउन लाग्ने जस्ता काम सामान्य ढंगले नै गर्छन् । कांग्रेसभित्रको राजनीतिक तातानबारे देउवाले कार्यकालको अन्तिममा खुलेर बहस गर्न थालेका छन् । अहिलेको संविधानको पक्षमा दह्रो उभिन थालेका देउवाले भनिरहेका छन्, रिटायर्ड हुने बेला भयो । कांग्रेस नै एकमात्र सपना हो । यसलाई बलियो पार्ने हो ।
कांग्रेसको नेतृत्वको रुपमा अन्तिम समयमा रहेका देउवा अब प्रधानमन्त्री बन्ने लाइनमा छन् । तर, पार्टी सत्तालाई कसरी उनले प्रयोग गर्छन् ? यो चासोको विषय बन्न पुगेको छ ।
कांग्रेसमा शेखर कोइरालादेखि गगन थापा र देउवा पक्षका नेताहरुले रिले दौड नै चलाएका छन् । पार्टी नेतृत्व लिने दौड चलिरहेको बेला देउवाले खुला बहसलाई जोड दिन थालेका हुन् ।
उनले अब आफ्नो विश्रामलाई प्राथमिकतामा राख्न थालेको, कांग्रेस बलियो बनाउने कसरी भनि चिन्तित देखिने र यस्ता विषयको वकालत किन गरिरहेका छन् ? यो विषय भने गम्भीर देखिन्छ । देउवाको अबको इच्छा छ एक पटक प्रधानमन्त्री बन्ने अनि कांग्रेसमा आफ्नो उपयुक्त उत्तराधिकारी खोज्ने ।
यसो भएमा कांग्रेसको इतिहास थप बलियो बन्ने र वर्तमानमा जनताको आकर्षणमा कांग्रेस पर्ने र मुलुकको समग्र विकासमा कांग्रेसको नाम उच्च रहने विश्वास लिएका छन् देउवाले ।
कांगेसको राजनीतिमा संघर्षपूर्ण यात्राबाट गुज्रेका देउवा
शेरबहादुर देउवा नेपाली कांग्रेसको संघर्षमय इतिहासमा ठुलो संघर्ष गर्दै सभापतिको पदसम्म आइपुगेका व्यक्ति हुन् । विद्यार्थी राजनीतिदेखि पार्टी राजनीतिसम्म आइपुग्दा देउवाले जेलनेल मात्रै भोगेका छैनन्, उनले आफ्नो ज्यान नै दाउमा राखेर राजनीति गरेका छन् ।
पञ्चायतकालमा दलहरुमाथि पूर्ण प्रतिबन्धको अवस्थामा पनि देउवाले संघर्षपूर्ण परिस्थिति झेल्दै कांग्रेसलाई भित्रभित्रै बलियो र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
देउवाको इच्छा एक, आन्तरिक रस्साकस्सी अर्कै
देउवाले कांग्रेसभित्र गुटउपगुट छरपष्ट रहेको, आफ्नै उम्मेदवार हराउन खुलेयाम लाग्ने प्रवृति रहेकाले यस्तो प्रवृति हट्न पाए भन्ने चाहना राखेपनि अहिले समेत गुटगत अवस्था चरम छ । संस्थापन इतर खेमाका शेखर कोइराला खुलेआम शक्ति संघर्षमा देशदौडाह गरिरहेका छन् । कांग्रेस सत्तामा रहेको कुरा शेखरलाई चित्तै बुझेको छैन । आफ्नै पार्टीले सरकार चलाइरहेका समय पनि उनी खुलेआम सरकारको विरोध गरिरहेका छन् ।
शेखरले मन्त्रालयको भागवण्डा र नियुक्तिमा भागवण्डामा सन्तुष्ट नभएकाले सरकारको आलोचना गरिरहेका हुन् भनि उनीविरुद्ध टिप्पणी हुने गरेको छ ।
यतिसम्म पनि यस पहिले उनले कोशी प्रदेशमा त पार्टी सभापतिको निर्देशन नमानेर तत्कालीन विपक्षी नेकपा एमालेसँगै मिलेर मुख्यमन्त्रीमा आफ्ना मान्छे बनाएका थिए । पार्टीको निर्णय र पार्टी सभापतिको निर्देशनलाई उनले ठाडै चुनौति दिएका थिए । यतिमात्रै होइन सार्वजनिक मञ्चहरुमा समेत शेखरले संस्थापनसँगको वेमेललाई उदाङ्गो पार्ने गरेका छन् ।
शेखरको भनाई छ कि संस्थापन पक्षले मनोमानी गर्दैछ । शेखरमात्रै होइन, कांग्रेसभित्र उपगुटहरु पनि थुप्रै छन् । जसले गर्दा भागवण्डाको राजनीति कांग्रेसभित्र चरम हुने गरेको छ । यि सबै परिस्थिति हेर्दा देउवाको चाहना अनुसार आन्तरिक मेलमिलापसहितको कांग्रेस बन्ने छाँटकाट त अहिलेनै देखिदैन ।