
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको ‘सुत्केरी सट्टा शिक्षक व्यवस्थापन’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुत्केरी विदामा बस्ने महिला शिक्षकका कारण विद्यालयको पठनपाठन प्रभावित हुने समस्या देखिएपछि ‘सट्टा शिक्षक’कार्यक्रम लागू गरिएको थियो ।
सुरक्षित मातृत्व तथा प्रजन्न स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार ९८ दिनको प्रसूति विदा पाउने व्यवस्थाबीच यो कार्यक्रमले विद्यार्थीको नियमित पठनपाठन सुनिश्चित गर्दै जनशक्ति व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको ‘सट्टा शिक्षक’कार्यक्रमले पठनपाठनलाई प्रभावित हुनबाट जोगाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित शिद्धि गणेश माध्यामिक विद्यालयमा शिक्षण गर्दै आएकी गरीमा दंगाल अहिले सुत्केरी विदामा छिन् । सरकारको नीति अनुसार तीन महिनाको सुत्केरी विदा पाएकी उनी हाल बच्चाको स्याहारमा व्यस्त छिन् । तर, उनको अनुपस्थितिले विद्यालयको पठनपाठन भने रोकिएको छैन ।
त्यसको कारण हो—चौतारा साँगाचोक गढीनगरपालिकाले सञ्चालनमा ल्याएको ‘सुत्केरी सट्टा शिक्षक व्यवस्थापन’कार्यक्रम । दंगालको स्थानमा अहिले स्थानीय योग्यता प्राप्त शिक्षक आस्था श्रेष्ठले कक्षा सम्हालिरहेकी छन् । नगरपालिकाबाट तीन महिनाको अवधिका लागि नियुक्त भएकी श्रेष्ठले नगरपालिकाले तोकेको निश्चित पारिश्रमिक सहित रोजगारी पाइन् । अर्कोतर्फ, दंगालको तलब र सुविधा यथावत् छन् ।
यसअघि जब महिला शिक्षक सुत्केरी विदामा जान्थे, विद्यालयमा उनीहरूले पढाउँदै आएका विषयहरू अव्यवस्थित हुन्थे । कक्षाहरूको निरन्तरता टुट्थ्यो र विद्यार्थीहरू पठनपाठनबाट विमुख हुने स्थिति आउँथ्यो । तर, चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले शिक्षण कार्यमै सहजता ल्याएको छ । विद्यालयले आवश्यक प्रक्रिया पूरा गरी योग्यता अनुसार स्थानीय व्यक्तिलाई सट्टा शिक्षकका रूपमा रोजगारी दिने गर्छ । यसको सम्पूर्ण खर्च भने नगरपालिकाले व्यहोर्नेछ ।
शैक्षिक सत्र २०८१÷८२ मा यो कार्यक्रमका लागि पाँचलाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही वर्षमा सातजना महिला शिक्षकले सुत्केरी विदा लिँदा उनीहरूको स्थानमा स्थानीय युवालाई सट्टा शिक्षकका रूपमा नियुक्त गरिएको थियो । यस कार्यक्रमले दुईवटा महत्त्वपूर्ण सामाजिक आवश्यकतालाई सम्बोधन गरेको छ ।
एकातर्फ आमा र नवजात शिशुको स्वास्थ्य र स्याहारका लागि पर्याप्त समय मिलेको छ भने अर्कोतर्फ विद्यार्थीले निरन्तर शिक्षा पाउने अधिकारबाट वञ्चित हुनुपरेको छैन । यस अघिको अभ्यासमा सहकर्मीले सुत्केरी शिक्षकको विषय समेत सम्हाल्नुपर्दा अतिरिक्त कार्यभार बढ्ने र शिक्षण गुणस्तर खस्किने समस्या देखिन्थ्यो । तर, अब त्यो समस्या समाधान भएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यो कार्यक्रममार्फत स्थानीय युवालाई अस्थायी रोजगारीको अवसर समेत सिर्जना गरेको छ । एकातर्फ शिक्षण अनुभव बटुल्ने अवसर पाएका युवाहरूको उत्साह बढेको छ, भने अर्कोतर्फ शिक्षक अभावमा शिक्षण अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।
यो कार्य स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र दूरदर्शी निर्णयको सफल उदाहरण बनेको भनि चर्चा भइरहेको छ ।