
कास्की । धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’भन्ने मुलनारासहित आइतबार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२ देशभर मनाइएको छ । हरेक वर्षको असार १५ रोपाईँमा ब्यस्त वास्तविक किसान भन्दा गैर किसानलाई उत्सव बन्ने गरेको छ ।
नेता कार्यकर्तादेखि कृषि कर्मचारीहरुले जिल्ला जिल्लामा रोपाईँ महोत्सव मनाउदै गर्दा पोखरामा विदेशी पर्यटकहरुको आकर्षण बनेको छ असार १५ ।
यो कुनै झगडा होइन, पोखरामा विदेशी पर्यटकहरु एक अर्कामा हिलो छ्यापाछ्याप गरेर असार १५ को उत्सव मनाइरहेको दृष्य हो । पोखरा महानगरपालिका वडा नं. २६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा आइतबार भएको २२ औं धान दिवस तथा २० औं संस्करणको रोपाई महोत्सवमा विदेशी पर्यटकले हिलोमा रमाइलो गरी रोपाईँ महोत्सव मनाएका हुन् । साथै नेपालको मौलिक रोपाई महोत्सवमा निकै रमाइलो भएको विदेशी पर्यटकको अनुभव छ ।
‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा हुने रोपाई महोत्सवले अफ सिजनमा पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने सन्देश दिने उद्देश्य पनि हो ।
वि.सं.२०६१ सालदेखि हरेक वर्ष हुने रोपाईँ महोत्सवमा हिले दौड, रोपाई प्रतियोगिता, रस्साकस्सी, हिलोमा माछा समाउने जस्ता प्रतियोगिता गरिँदै आएको छ । जसमा विदेशी पर्यटकहरुको समेत उत्साहपूर्ण सहभागिता हुने गरेको छ ।
असारमा किसानले मानो रोपेर मुरी फलाउने समय हो । त्यसैले असार १५ लाई विशेष दिनका रुपमा मनाइँरहँदा यसले विदेशी पर्यटकलाई कृषिका बारेमा बुझाउन र पोखराको पर्यटन सबै मौसम हो भन्ने स्थापित भएको गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको दाबी छ ।
यस्ता महोत्सवले किसानलाई मात्र नभई कृषि पर्यटनमार्फत विदेशीहरु भित्र्याउन सकिने ब्यवसायीहरुको विश्वास छ । प्लटिङ गरेर घरघडेरीमा जग्गाको कारोबार न्यून गर्दै खेतीयोग्य जमिनलाई खेतीमा आकर्षण गराउन पनि यसले मद्दत पुग्ने विश्वास लिइएको छ ।
हराउँदै गएको कृषि प्रणालीलाई जगेर्ना गर्न र पोखराको पर्यटन चलायमान गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् ।
पोखरा पर्यटनको राजधानी भएकाले पनि रोपाई महोत्सवलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिन्छ । त्यसैले कृषि पर्यटनमार्फत सबै क्षेत्रको प्रचार गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सके नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने नै छ ।
पोखरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोपाईँ महोत्सव गरिएजस्तै देशैभर सरकारी तथा गैरसरकारी संस्थाहरुले खेतकै गरामा पुगेर धान रोप्ने जस्ता कार्यक्रम गरी आइतबार धान दिवस मनाएका छन् ।
विराटनगर महानगरको धान दिवस
विराटनगर महानगरपालिकाको कृषि तथा पशुपंक्षी विकास शाखाले विराटनगर वडा नम्बर १६ को दरैयामा कार्यक्रम गरी धान दिवस मनायो । धानको खपत बढ्दै गएको बेला धानमा आत्मनिर्भर हुने गरी स्थानीय तहहरुले कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने जनप्रतिनिधिहरुले बताए ।
स्थानीय दरैहिया कृषि सहकारी संस्थाको सहकार्यमा भएको यो कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्मचारी र कृषकहरु सहभागि थिए ।
झापाको हल्दीबारी पुगे कृष्ण सिटौला
नेपाल किसान महासङ्घ झापाले हल्दीबारीमा आयोजना गरेको धान दिवसको कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पुगेका थिए । सिटौलाले संविधानमा किसानका हक–हित स्पष्ट रूपमा उल्लेख भए पनि व्यवहारमा किसानहरु उपेक्षित रहेको भन्दै स्थानीय तथा प्रदेश सरकारलाई किसानमैत्री नीति ल्याउन सुझाए ।
देउडा गाएर मनाइयो धान दिवस
डडेल्धुरामा भने सगुनसँगै डेउडा गाएर धान दिवस मनाइएको छ । ‘ डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ३ को साउनगाउँमा परम्परागत सगुन र डेउडा खेलेर धानदिवस मनाइएको छ ।
रोपाइको सुरुवात गर्दा अन्नउब्जनी बढ्नुका साथै पुग्ने गरि आम्दानी होस् भनेर आशिष सहित सगुन गाउने गरेको स्थानयले बताए । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ ।
समयमै मनसुन सुरु भइ वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष असार दोस्रो सातामै ६० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । ६ हजार १ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने डडेल्धुरामा करीब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
देशभर २० प्रतिशत रोपाईँ सम्पन्न
यसवर्ष असार १५ सम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सकिएको हो ।
मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म २ लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाइँ भएको छ । गतवर्षको तुलनामा भने यसवर्ष अहिलेसम्म १ प्रतिशत रोपाइँ कम भएको छ । गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो ।