
काठमाडौँ । असार १२ गते राति परेको अबिरल वर्षाले नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ मा ठूलो धनजनको क्षति पुर्याएको छ। भीषण वर्षाका कारण आएको पहिरो र बाढीले कयौँ घरगोठ बगाएर व्यापक भौतिक क्षति पुर्याएको स्थानीयले जनाएका छन्।
घटना हुनुअघि घरमै सुतिरहेका अशोक बलामी र उनकी श्रीमती कमला बलामीलाई बाढीले बगाउँदा अशोक बलामी गम्भीर घाइते भएका छन् भने श्रीमती कमला बलामीको निधन भएको छ।
मृतक कमला बलामीको शव घटनास्थलबाट करिब ६ किलोमिटर टाढा कोल्पुटार भन्ने स्थानमा फेला परेको हो । मृतकका ससुरा लालबहादुर बलामीका अनुसार, ठूलो सङ्ख्यामा खटिएको प्रहरी टोली, तालिमप्राप्त कुकुर र स्थानीयको सहयोगमा शव फेला पारिएको हो ।
यस अकल्पनीय प्राकृतिक विपत्तिका पीडित परिवारलाई सहयोगस्वरूप 'प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समूह, नुवाकोट' द्वारा हाललाई रु १०,००० आर्थिक सहायता प्रदान गरिएको छ ।
सहयोग रकम संविधान सभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका नेता जगदीश्वर नरसिंह के.सी. र बागमती प्रदेशसभा सदस्य ऋषिकुमार तामाङको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
पत्नीको निधनपछि भावविह्वल भएका अशोक बलामीले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा साथ दिएकामा आभार प्रकट गरेका छन्। बलामी परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना गरिन्छ।