
काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको नयाँ मोडमा पुगेको छ। करिब एक दशकसम्म पार्टीको बागडोर सम्हालिरहेका सभापति शेरबहादुर देउवाको युग अब विधिसम्मत रूपमा अन्त्यतिर उन्मुख हुँदै गर्दा, पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र हुँदै गएको छ। नयाँ नेतृत्व को? कसरी? किन? भन्ने प्रश्नको केन्द्रमा अहिले डा. शेखर कोइरालाको नाम गुञ्जन थालेको छ।
पार्टी नेतृत्वमा अनिश्चय र महाधिवेशनको अन्योल
नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्नुपर्ने विधानतः व्यवस्था भए पनि हालसम्मको संगठनात्मक तयारी, विवादित क्रियाशील सदस्यता वितरण, नवीकरणको ढिलाइ, र समय अभावका कारण महाधिवेशन निर्धारित मितिमा सम्भव देखिँदैन। गगन थापाको संयोजकत्वमा बनेको छानबिन समितिले हालसम्म उल्लेखनीय उपलब्धि हासिल गर्न नसक्नु, अधिकांश जिल्लामा सदस्यता नवीकरण तथा वितरणको विवाद समाधान नहुनु, महाधिवेशनप्रति पार्टीकै कार्यकर्ताको विश्वास खस्कँदो हुनु—यी सबैले नेतृत्वको संक्रमण अझ पेचिलो बनाएको छ।
देउवा युगको समिक्षा र शेखर युगको सुरुवात
शेरबहादुर देउवाले १० वर्ष पार्टी सभापतिको जिम्मेवारी सम्हाले। यस अवधिमा पार्टीले के पायो र के गुमायो भन्ने विषय एक फरक समीक्षाको कुरा हो। तर अब देउवाले विधानतः पुनः नेतृत्व लिन नपाउने भएपछि कांग्रेसको भावी दिशा कुन तर्फ मोडिन्छ भन्ने महत्वपूर्ण प्रश्न खडा भएको छ। यही मोडमा शेखर कोइराला प्रमुख उत्तरको रूपमा देखा परेका छन्।
१४औं महाधिवेशनमा पराजयपछि पनि उनले हार स्वीकार्दै संगठन सुदृढीकरणमा निरन्तर काम गरे। उनले सुदूरपश्चिम, कर्णाली, मधेश, कोशीलगायतका भूगोलमा संगठन निर्माणमा सक्रिय उपस्थिति जनाउँदै आएका छन्। कार्यकर्तामाझ प्रत्यक्ष संवाद, पार्टीभित्रको असन्तुलन, विधानविपरीत निर्णयमाथि सवाल, र स्पष्ट वैचारिक अभिव्यक्ति—यी सबैले उनलाई वर्तमान नेतृत्वभन्दा बढी सक्रिय र उत्तरदायी नेताका रूपमा स्थापित गराएका छन्।
वैचारिक र जीवनशैलीको भिन्नता
कांग्रेसभित्र अहिले ‘चर्का भाषण गर्ने’ युवाहरुको समूह र ‘पुराना नेताको प्रभुत्व’बीच तालमेलको अभाव देखिन्छ। यस्तो अवस्थामा सबै पुस्तालाई समेट्न सक्ने, संयमित, व्यवहारिक र खुला सोच राख्ने नेतृत्वको आवश्यकता छ। शेखर कोइराला त्यस्तै समन्वयकारी व्यक्तित्वका रूपमा देखिएका छन्।
उनको सरल जीवनशैली, कार्यकर्तामाझ सजिलो पहुँच, भड्किलो प्रदर्शनविहीन सहभागिता—यी सबै तत्त्वले उनलाई आम नेपालीको प्रतिनिधि नेताको रूपमा स्थापित गराएको छ। अहिलेको नेतृत्वले भव्य गाडी, साउथ इन्डियन फिल्म शैलीको उपस्थितिबाट आलोचना खेपिरहँदा, शेखर कोइरालाको भुइँमान्छेप्रतिको अपनत्वले विश्वास पैदा गरिरहेको छ।
कांग्रेस र लोकतन्त्र : नेताको महत्व
कांग्रेस बलियो नहुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने बुझाइसँगै अब नेतृत्व छनोटमा कुनै गल्ती हुन नहुने अवस्था छ। गुट निर्माण, सत्ताका लागि सम्झौता, गठबन्धनको नाममा नीतिगत विचलनले पार्टीको आत्मा कमजोर बनाउँदै लगेको देखिन्छ। अहिले आवश्यक छ, विचारमा स्पष्टता, संगठनमा अनुशासन, र जनतासँगको आत्मीय सम्बन्ध।
शेखर कोइराला त्यस्तो नेतृत्व हुन्, जसले पार्टीलाई पुनः विचारशील, न्यायसंगत, विधिसम्मत र चलायमान बनाउन सक्ने क्षमता राख्छन्। पार्टीभित्र र बाहिर दुवै ठाउँमा उनको नाम एक विकल्प मात्र होइन, आवश्यकताको रूपमा स्थापित हुँदै गएको छ।
सारमा,
नेपाली कांग्रेस अहिले एक ऐतिहासिक मोडमा छ। पुरानो युगको समापन र नयाँ युगको शुरुवातको घडी हो यो। अहिले गरिने निर्णयहरूले पार्टीको आगामी १० वर्षको यात्रा निर्धारण गर्नेछ।
शेखर कोइरालालाई पार्टी सभापतिको जिम्मेवारी दिनु भनेको विचार, संयम, संगठन र जनसम्पर्कको सन्तुलित नेतृत्व रोज्नु हो। नेपाली कांग्रेसले अब भावनात्मक निर्णय होइन, यथार्थवादी र पार्टीको दीर्घकालीन हितमा आधारित निर्णय गर्न आवश्यक छ—र त्यो निर्णय शेखर कोइराला हुनसक्छन्।