News 24 Television
तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही

काठमाडौं । असार १६ गतेदेखि २२ गतेसम्म एक सातासम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संस्थापन र इतर पक्षको प्रतिशोधपूर्ण बहस निकै चर्किएको थियो । 

झण्डै ९ महिनापछि मात्रै बसेको केन्द्रीय कार्य समिति बैठकमा २०७९ सालको निर्वाचनमा भएको घात प्रतिघातबारे आरोपप्रत्यारोप भयो । एकले अर्कालाई निषेध गर्ने गरी चलेको बहसपछि केहीलाई अनुशासन समितिको डण्डा लगाउने काम कांग्रेसले गरेको छ । 

नेपाली कांग्रेसको असार १६ गतेदेखि एक सातासम्म चलेको केन्द्रीय समितिको बैठकमा उद्योगपति विनोद चौधरीको सदस्यतामाथि नै प्रश्न उठाइएको थियो । कांग्रेस इतर पक्षमा नेता डा. शेखर कोइरालाले नै चौधरीलाई विधान, प्रक्रिया र मापदण्ड मिचेर केन्द्रीय सदस्य बनाइएको आरोप लगाएका थिए । 

कोइराला मात्र होइन, उनी पक्षका नेताहरुले पार्टीलाई चन्दा दिएको बलमा चौधरीलाई केन्द्रीय सदस्य बनाइएकोसमेत आक्षेप लगाएका थिए । उक्त केन्द्रीय समिति बैठकमै चौधरीले आफूलाई आलोचना गरेका नेता कोइरालामाथि नै कारबाही गर्नुपर्नेसम्मको माग गरेका थिए । 

खासगरी ७९ सालको आम निर्वाचनमा पश्चिम नवलपरासीबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस उम्मेदवार बनेका चौधरीलाई हराउन कांग्रेसकै केही नेताहरु खुलेरै लागेका थिए । पार्टीको लुम्बिनी प्रदेश समितिका महामन्त्री विक्रम खनाल चौधरीको खिलापमा लागेका थिए । 

नवलपरासीको बर्दघाट निवासी विक्रम खनाल लगायतको समूहले चौधरीलाई हराउन लागि परे पनि चौधरीले चुनाव जिते । प्रतिनिधिसभा सदस्य निर्वाचित भएका चौधरीले आफूलाई हराउन लागेका विक्रमलाई कारबाही गर्न पार्टी नेतृत्वलाई झक्झकाइ रहे । 

चौधरीले पार्टीको अनुशासन आयोगमा समेत उजुरी गरे । तर इतर पक्षका नेता शेखर कोइरालाको साथ पाएका विक्रमलाई कारबाही गर्ने आँट कांग्रेसले गरेन । 

विनोद चौधरीको विरोध गर्ने विक्रम परे कारबाहीमा 

पछिल्लो पटठक झण्डै नौ महिनापछि बसेको केन्द्रीय कार्य समितिको बैठकमा चौधरीविरुद्ध नै शेखर समूह खनियो । इतर पक्षका गुरुराज घिमिरेले त शेखरमाथि उठाएका प्रश्नको सामाजिक सञ्जालबाट चौधरीलाई सम्बोधन गरेर खण्डन गरेका थिए । 

शेखर पक्षकै केदार कार्कीले चन्दा दिएको आधारमा पार्टीमा हावी भएको भन्दै चौधरीको आलोचना गरेका थिए । चन्दा त मजदुरले पनि दिएको भन्दै कार्कीले चौधरीको आलोचना गरेका थिए ।

केन्द्रीय कार्य समितिको बैठक लगत्तै केन्द्रय अनुशासन समितिले ३ वर्षअघि ७९ को निर्वाच्नमा अन्तरघात गरेको भन्दै चौधरीको खिलापमा लागेका विक्रम खनालसहित २३ जना माथिका कारबाहीको डण्डा चलाएको छ । खनाललाई अनुशासन समितिले एक वर्षसम्म पार्टीको साधारण सदस्यसमेत हुन नपाउने गरी निश्कासित गरिदिएको छ । 

गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत कारबाहीमा

७९ सालको निर्वाचनमा पार्टीको आधाकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का समेत कारबाहीमा परेका छन् । खड्कालाई पनि एक वर्षका लागि पार्टी सदस्यबाटै निश्कासन गरिउको छ । 

केन्द्रीय अनुशासन समितिले उनलाई १ वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो । अनुशासन समितिको असार ९–१७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागिपरेको निश्कर्ष निकाल्दै कारबाही गरिएको छ । 

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले खनाल र खड्कासहित तेह्रथुमका महासमिति सदस्य तुल्सी प्रसाद सुब्बा, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, पर्साका १ नम्बर क्षेत्रीय सभापति अरबिन्दकुमार गुप्तालाई पनि एक वर्षका पार्टी सदस्यबाटै निस्काशित गरेको छ । 

अनुशासन समितिको नामबाट भएको कारबाहीको डण्डासँगै नेताहरुले विभिन्न टिकाटिप्पणी गर्न थालेका छन् । यो कारबाहीले पार्टीलाई अनुशासनमा मजबुत बनाउँछ कि अझ अझ अराजकतातर्फ लैजान्छ, हेर्न बाँकी छ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update