News 24 Television
मुख्यमन्त्री नियुक्तिको गडबडीले तरंगित मधेसको राजनीति

काठमाडौँ । मधेस प्रदेशमा राजनीतिक अस्थिरता र खिचातानीले द्वन्द्वको रुप लिएको छ । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर प्रदेश प्रमुख सुमित्रा भडारीको भूमिकाको आलोचना बढेपछि संघीय सरकारले उनलाई पदमुक्त गरिसकेको छ । उनको भूमिकाकै कारण काँग्रेसलगायत ७ दल आन्दोलित भएका छन् भने मधेस टुक्य्राउनुपर्छ भन्ने तत्वहरु पुनः सल्बलाउन थालेका छन् । सोमबार मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड समेत भयो । मंगलबार पनि प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध ७ दलका सांसदहरूले विरोध प्रदर्शन तथा धर्ना जारी राखे । उनीहरूले एमालेको नेतृत्वमा बनेको पछिल्लो सरकारलाई अवैध सरकार भनेका छन् । साथै एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गरिएको छ ।

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने नदेखेपछि शनिबार राजीनामा दिएका थिए । त्यसपछि संविधानको धारा १६८ (२) अनुसार नै प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने नेतालाई मुख्यमन्त्री बनाउन एमालेबाहेकका दलहरुले माग गरिरहेका थिए । तर सोमबार एकाबिहानै प्रदेश प्रमुख भण्डारीले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले प्रदेश संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्ति गरिन् । उनले होटलमा लगेर मुख्यमन्त्रीलाई शपथ गराएको भन्दै विरोध र आलोचना बिहानैदेखि सुरु भइसकेको थियो । दिउँसोसम्म मधेस प्रदेशसभाका ७ राजनीतिक दलले नाराबाजी सहित तोडफोड र सुरक्षाकर्मीमाथि हातपात समेत गरेका छन् । 

सोमबार बिहान चार बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू विरामी परेको र श्वास फेर्न गाह्रो भइरहेको भन्दै उपचारका लागि काठमाडौँ जाने भनेर हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानातिर जंगलमा रहेको पानस कटेज होटलमा एमालेका सरोज यादवलाई नयाँ मुख्यमन्त्री चयन गरेकी थिइन् । सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । नाटकीय ढंगले भएको यो कार्यपछि प्रदेशका अन्य दल आक्रोशित भए । यता संघीय मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखबाट भण्डारीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखका लागि सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपतिसमक्ष सिफारिस गरियो । यद्यपि नवनियुक्त मुख्यमन्त्री सरोज यादवले परिस्थितिवश आफू मुख्यमन्त्रीमा नियुक्त भएको र बाध्यताका कारण बाटोमै शपथ ग्रहण गरेको बताए । संविधानले दिएको अधिकारअनुसार नै आफू मुख्यमन्त्री बनेको जिकिर गर्दै राष्ट्रिय हितमा कुनै आघात नहुने दाबी गरे ।

सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजिनामा दिएकाले १ सय ६८ (३) सक्रिय नहुने विरोधी दलहरुको दाबी छ । विश्वासको मत नपाएर राजीनामा दिएका जितेन्द्र सोनलको नेतृत्वमा नै नेपाली काँग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गर्दै आएका थिए । तर प्रदेश प्रमुखले कुनै आह्वान नै नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल काँग्रेसलाई समेत साथमा लिएर नयाँ सरकार गठनका लागि पहल थालेको थियो । शनिबार विश्वासको मत नपाएर राजीनामा दिएका सोनलले आइतबार भने कुल १०७ सदस्यीय प्रदेशसभामा करिव ८५ सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको दाबी गरेका थिए । 

यसैबीच, मधेस प्रदेशमा केन्द्रका मुख्य दलहरुले नै सत्ता खिचातानी गरिरहेको आरोपसहित जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री नियुक्तिको पछिल्लो लफडापछि राउतले फेसबुकमा लेख्दै भनेका छन्– ‘५४ प्रतिशत जनसंख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने । उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने ।’ उनले मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गर्न र आफ्नै प्रदेश प्रहरी तथा प्रशासनसहितको सरकार गठन गर्न आह्वान गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update