
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणमा गएकाहरु नफर्किएको भन्ने चर्चा चल्दै गर्दा यो विषयले संसदमा आरोप–प्रत्यारोपको स्थिति सिर्जना गरिदिएको छ । स्पेनमा जानेहरु को हुन् ? को फर्किएनन् ? यो विषयमा प्रश्न उठेपछि संसदीय मर्यादाभित्र प¥यो वा परेन भन्नेदेखि छानविनको जिम्मा कसको भन्ने प्रश्न पेचिलो बन्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण विवादमा परेको छ । के उनको स्पेन भ्रमणमा बाहिर चर्चा भएजसरी नै मानिसहरु उतै लुकेका हुन् ? सर्वसाधारणमा शंका र प्रश्न उब्जिएको छ ।
संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पेन भ्रमणको वियषमा भनिरहेको विषय नै अलमलमा देखिन्छ । भ्रमण दलमा गएकाहरु होइन, अन्य नेपालीहरुको भिसा रद्ददेखि केहि उडेको भन्ने उनीहरुको तर्क छ ।
संसद बैठकभित्र रास्वपाले भनिरहेको विषयको प्रष्टीकरण बाहिर आएर समेत दिनलाई नेताहरुले जोड दिइरहेका छन् ।
रास्वपाले आफ्नो विषयलाई स्थापित गराउन विभिन्न विषयमा जोडबल गरिरहेको छ । तर, रास्वपाले छानविन गर्ने निकायको सक्रियता खोजेको छ । भिजिट भिसाको दुरुपयोगबारेको प्रश्न भने उठाइरहेको छ । यता, सरकार भने प्रतिशोधमा उत्रिन खोजेको देखिन्छ । प्रधानमन्त्रीको भ्रमणमा गएका र फर्किएकाहरुको सूची सार्वजनिक गर्दै अन्य गडबडी भए संसदबाटै अनुसन्धान गर्ने निकायलाई निर्देशित गर्नुको सट्टा गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछानेमाथि प्रहार गरे । रवि अमेरिका भिजिट भिसामै गएको र उतैउतै त्यहाँको नागरिक बनेको कुरा स्मरण गराउँदै त्यो कार्य दुरुपयोग हो कि होइन भनि प्रश्न गरेका छन् ।
एमालेले संसदमा उठ्ने प्रश्न, संसदीय गरिमा र मर्यादाका विषयलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिइरहेको छ । संसद दुष्प्रचार गर्ने थलो त बनेको छैन ? एमालेको प्रश्न छ ।
विवाद र आरोप–प्रत्यारोप चर्किदै गएपछि कांग्रेसले पनि स्वर्णिम वाग्लेले उठाएको मुनरो डक्टरिनको विषयमा प्रश्न गरिरहेको छ । स्वर्णिमको राजनीतिक उद्देश्यमाथि प्रश्न गरिरहेको छ ।
संसदमा चर्काचर्की भने रोचक मोडमा पुगेको छ । एमाले–कांग्रेसले रास्वपामाथि प्रहार गरिरहेका छन् भने रास्वपा संसद बैठक बहिस्कारसहित डिफेन्समा उत्रिएको देखिन्छ । यद्यपी संसदमा उठ्ने विषयले सर्वसाधारणलाई दिग्रभ्रमित पार्ने वा समाधानको बाटो देखाउने ? यो बहस भने पेचिलो बन्न पुगेको छ ।