News 24 Television
काँग्रेसमा बढ्यो कलह, अनुशासन कारबाहीले शेखर समूहमा तरंग

काठमाडौँ । नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्रको आन्तरिक कलहलाई थप चर्काएको छ । नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीबीचको आरोपप्रत्यारोपले नेताहरूमाथि कारबाहीको दण्ड समेत चलेको छ । केन्द्रीय समिति बैठकमा डा. कोइरालाले चौधरीलाई पार्टीको विधान, प्रक्रिया र मापदण्डको उल्लंघन गर्दै केन्द्रीय सदस्य बनाइएको आरोप लगाएका थिए । उनका पक्षका अन्य नेताहरूले पनि चन्दा दिएको आधारमा चौधरीलाई पार्टीमा प्रभावशाली बनाइएको भन्दै आलोचना गरेका थिए । 

त्यसपछि चौधरी केन्द्रीय समिति बैठकमा कोइरालामाथि आक्रामक रूपमा प्रस्तुत भए । आफूलाई हराउन हृदयश त्रिपाठीलाई सघाएको आरोप लगाउँदै लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई बोकेर हिँडेको भन्दै चौधरी कोइरालामाथि खनिएका थिए । उनले नेता कोइरालालाई कारबाही नै गर्नुपर्नेसम्मको माग गरे । त्यसपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीदेखि युवा नेता गुरुराज घिमिरेसम्म चौधरी विरुद्ध उभिए । 

अनुशासन समितिले नेता कोइराला समूहको नेताहरूमाथि कारबाहीको दण्ड नै चलाएपछि कांग्रेसमा तरंग नै ल्याएको छ । अनुशासन समितिले नेता शेखरनिकट लुम्बिनी महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, गण्डकीका पूर्वमन्त्री कुमार खड्कालगायत १८ जनालाई कारबाहीको निर्णय गरेको छ । जसमध्ये खनाललाई एक वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरिएको छ । 

आफूनिकट नेताकार्यकर्तामाथि अनुशासन कारबाही भएपछि नेता कोइरालाले सम्पर्क कार्यालय बालुवाटार विशालनगरमा बिहीबार आन्तरिक छलफल नै राखे । छलफलमा नेता शेखर कोइरालाले कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने वाचा गरेका छन् । इतरपक्षले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको छ । संस्थापन इतर पक्षधर नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने काँग्रेसको विधान रहेको भएपनि करिव तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताएका छन् । 

पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यले कारबाही गरिएको कोइराला पक्षका नेताहरूको ठहर छ । अनुशासन समितिको कारबाही पार्टी विधान र नियमावली विपरित रहेको र सिंगो पार्टीको हित विपरित भएकाले यसलाई स्वकार्न नसक्ने कोराला पक्षधर नेताहरूको तर्क छ ।  

अनुशासन समिति सदस्य सञ्जय गौतमले समेत कारबाहीलाई अवैध र पार्टीहितविपरीत भनेका छन् । 

कांग्रेसभित्र देखिएको हालको विवादले पार्टीको आन्तरिक एकता र अनुशासन समितिको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । अर्कोतर्फ, कोइराला र चौधरीबीचको टकरावले संस्थापन पक्ष र इतर धारबीचको खाडल अझ गहिरिँदै गएको छ । 

कारबाही प्रक्रियासम्बन्धी उठेका प्रश्नहरूले पार्टीको विधान र पारदर्शिता सम्बन्धी बहसलाई तीव्र बनाइरहेका छन्  । १५औँ महाधिवेशन नजिकिँदै गर्दा यस प्रकारका विवादहरूले नेतृत्व चयन प्रक्रिया र पार्टीको समग्र भविष्यमा समेत प्रत्यक्ष असर पार्न सक्छ । अब यो विवाद सभापति देउवाको पहलमा सुल्झिन्छ कि पार्टीभित्रको तनाव झन् चर्किन्छ, त्यो भने समयले नै देखाउनेछ । 
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update