
काठमाडौं । कांग्रेस एमाले सत्ता गठबन्धन दलहरुको किचलोकैबीच केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पार गरेको छ । सरकारको वर्ष दिनको उपलब्धीप्रति स्वयम् सत्ता साझेदार दलहरु नै बेखुश छन् । विभिन्न आरोप प्रत्यारोपमा अल्झिएको नेपाली राजनीतिमा अहिले सबैजसो दलहरु आन्तरिक लफडामा अल्झिएका छन् ।
प्रमुख राजनीतिक दलहरु यतिबेला आन्तरिक किचलोमा अल्झिएका छन् । सत्तारुढ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस तथा जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु आन्तरिक अल्झन्मा छन् ।
मुलुकको राष्ट्रिय राजनीति नै लयमा आउन नसकिरहेकाबेला फेरि ठूला दलहरुमा देखिएको आन्तरिक अल्झनले सत्ता राजनीति नै खटपटको जोखिम पनि उत्तिकै देखिएको छ ।
एमालेमा भावी नेतृत्वको बहस उत्कर्षमा
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले यतिबेला ७० वर्षे उमेरहद र दुई कार्यकाल पार्टी नेतृत्वबारेको बहसमा अल्झिएको छ ।
योसँगसँगै विधान महाधिवेशनको तयारीमा रहेको एमालेमा पूर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिक पुनरागमनले नयाँ रुप लिएको छ । पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सेवा सुविधा समेत त्यागेर घोषित रुपमा नै एमाले राजनीतिमा फर्किएकी विद्यालाई पार्टीको भावी नेतृत्वको चर्चा शुरु भएको छ ।
मदन जयन्तीको दिन पारेर पार्टीमा सक्रिय भएको उनको घोषणा गरेपछि पार्टी केन्द्रदेखि ग्रासरुटसम्म नै एमालेमा केपी ओली र विद्या पक्षको कित्ताकाट शुरु भइसकेको छ । विद्या पुनरागमनले भुकम्प नै गएको एमालेमा नेतृत्वको बहस नगर्न एमाले महासचिव शंकर पोखरेलले निर्देशन नै जारी गरेका छन् ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने दाबी गर्दै भावी नेतृत्वको बहसप्रति बन्देज लगाउन खोजेका हुन् । पोखरेलको यो निर्देशनले झनै बहस चुलिएको छ ।
अनुशासन समितिको कारबाहीले कांग्रेसमा तरंग
सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसमा पनि आन्तरिक कलह उस्तै छ । कांग्रेसमा संस्थापन इतर पक्षले सरकारको काम कारबाहीप्रति नै सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएको छ । पार्टी भित्रैको आन्तरिक किचलो थेग्न नसकेर सभापति शेरबहादुर देउवाले लामो समयसम्म पनि केन्द्रीय समिति बैठक बसालेका थिएन् ।
नौ महिनापछि असार १६ गतेदेखि २२ गतेसम्म चलेको केन्द्रीय कार्य समिति बैठकमा लामो समयदेखि गुम्सिएको आक्रोश छताछुल्ल भयो ।
एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने कामहरु भए । जसका कारण ३ वर्षअघिको निर्वाचनको विषयलाई लिएर कारबाहीको डण्डा चलाएपछि कांग्रेसमा झनै आक्रोश चुलिएको छ ।
खासगरी संस्थापन निषेधको राजनीतिक गर्न खोजेको भन्दै पक्षले इतर पक्ष प्रतिरोधमा उत्रिने तयारी गरेको छ । अनुशासन समितिको बलमा दर्जनौं नेता कार्यकर्तालाई गरिएको कारबाही नै नमान्ने घोषणा इतर पक्षले गरिसकेको छ ।
नेकपा एसमा पनि आन्तरिक लफडामा
नेकपा एकीकृत समाजवादी पनि यतिबेला आन्तरिक किचलोमा छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा विवाद प्रकरणमा मुछिएपछि एमालेमा विवाद चर्किँदै गएको हो । नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनको सांसद पदसमेत निलम्बनमा परेको छ ।
सांसद पद निलम्बनमा परेसँगै एकीकृत समाजवादीमा पनि पार्टी नेतृत्वको बहस चर्किएको छ ।
नेतृत्वकै विषयमा नेतृ रामकुमारी झाँक्री दिएको अभिब्यक्तिले नेकपा एसमा झनै विवाद चुलिएको छ । झाँक्रीलाई पनि कांग्रेसमा जस्तै अनुशासनको डण्डा चलाउने तयारी एउटा पक्षले गरेको छ ।
झाँक्रीलाई स्पष्टीकरण सोध्ने लगायतको काम भइसकेको छ भने पार्टीबाटै निश्कासित गर्न समेत केही नेताले उक्साइरहेका छन् । तर अर्को पक्षले भने झाँक्रीलाई कारबाही नगर्न सचेत गराईसकेको छ ।
सरकार छाड्ने नछाड्ने जसपा नेपालको अन्योल
पार्टीभित्रैको विवादले गर्दा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि यतिबेला सरकार छाड्ने नछाड्ने अन्योलमै छ । सरकारको काम कारबाहीप्रति असन्तुष्ट रहँदै पार्टी केन्द्रीय कार्य समिति बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गराईसकेका उपेन्द्र सरकार छाड्ने नछाड्ने अझै अन्योलमा छन् ।
प्रतिनिधिसभामा ५ सिट रहेको जसपा नेपालमा सबै सांसद सहमत नहुँदा सरकार छाड्ने नछाड्ने अन्योलमा रहेको हो । पार्टी संसदीय दलको पछिल्लो बैठकमा सबै सांसद उपस्थित नहुँदा सरकार छाड्ने नछाड्ने अन्योलमा जसपा नेपाल छ ।
जनमत पार्टी र नाउपा पनि विवादमै
सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि विवादरहित छैनन् । नागरिक उन्मुक्तिले त आन्तारिक विवादकैबीच संघदेखि प्रदेश सरकारको समर्थन फिर्ता लिइसकेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीमा पनि उस्तै कचिंगल छ । पार्टी हित विपरित काम गरेको भन्दै राउतले पनि नेता कार्यर्कतामाथि कारबाही चलाइरहेका छन् । जसले गर्दा राउतले पार्टीलाई परिवारवादमा फसाएको भन्दै आवाज पार्टी भित्रैबाट उठिरहेको छ ।