News 24 Television
अन्तर्राष्ट्रिय स्तरका कलेजसँग कनेक्सन, विद्यार्थी आकर्षित

काठमाडौं । विगतमा विदेश पढ्न जाने रहर नेपाली विद्यार्थीहरूबीच सामान्यजस्तै थियो । तर, पछिल्ला वर्षहरूमा यो प्रवृत्तिमा परिवर्तन देखिएको छ । अब धेरै विद्यार्थीहरू नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गरेर यहीँ केही गर्न चाहन्छन् । देशमै भविष्य खोज्ने यो सोचले शिक्षा क्षेत्र, नीति निर्माण र आर्थिक परिदृष्यमा नयाँ आशा बोकेको छ । 

पछिल्लो समय नेपालका विद्यार्थीहरूमा शिक्षा सम्बन्धी सोच र अपेक्षामा ठूलो परिवर्तन आएको छ । विदेश पढ्न जाने परम्परागत चाहनाबाट भिन्न आजका विद्यार्थीहरू अब नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गरेर देशमै बस्न र योगदान गर्न चाहन्छन् ।

नेपाली युवाहरूको यस्तो सोचलाई ध्यानमा राख्दै शिक्षण संस्थाहरूले पनि आफ्नो स्तर सुधार्न थालेका छन् । प्रविधि, व्यावसायिक तालिम, नवप्रवर्तन र व्यवहारिक शिक्षामा जोड दिइरहेको पाईन्छ ।  नेपालका ठूला विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरका कलेजहरूसँग सहकार्य बढाउँदै विदेशी शिक्षक र अनुसन्धानको अवसर दिन थालेका छन् । 

यसले विद्यार्थीहरूलाई विश्वव्यापी ज्ञान र दक्षता दिन मद्दत पुग्ने विश्वास छ । अर्कोतर्फ, सरकारले पनि रोजगार सिर्जना र उद्यमशीलता विकासमा जोड दिदै नेपालमै अध्ययनरत विद्यार्थीलाई प्रोत्साहित गर्ने नीति ल्याएको छ । विद्यार्थीहरूले नेपालमै राम्रो करियर निर्माण गरेर परिवार र समाजको विकासमा भूमिका खेल्न चाहन्छन् । तर, त्यसमा सरकारको भूमिका निर्णायक हुने विद्यार्थीहरू बताउँछन् । 

शिक्षा क्षेत्रका विज्ञहरू भन्छन्, विद्यार्थीहरूको बदलिँदो रोजाइले देशको समृद्धि र विकासमा उल्लेखनीय योगदान पु¥याउने सम्भावना छ । नेपाली विद्यार्थीहरू अब नेपालमै गुणस्तरीय शिक्षा हासिल गरेर समाज र राष्ट्र निर्माणमा सक्रिय हुन चाहन्छन् । तर, यो लक्ष्य पुरा गर्न राज्यको गम्भीर ध्यान आवश्यक छ र शिक्षा क्षेत्रमा दीर्घकालीन सोचसहित पर्याप्त लगानी गर्नु अब अपरिहार्य बनेको छ । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update