
मकवानपुर । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा मकवानपुरका सांसद इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् । कुल ३७ सिट रहेको कांग्रेसमा २२ मत सहित बानियाँ दलका नेतामा निर्वाचित भएका हुन् ।
खसेको ३७ मतमा एक मत बदर हुँदा लामाको पक्षमा १४ मत मात्रै प्राप्त भयो । यो सँगै अब बागमतीको राजनीतिमा कांग्रेसको अन्तरद्धन्द्धले नयाँ ट्वीष्ट ल्याउने संकेत देखिन्छ ।
बागमती प्रदेश कांग्रेस संसदीय दलका तत्कालिन नेता बहादुर सिंह लामा विरुद्ध आफ्नै संसदीय दलभित्रै मोर्चाबन्दी भयो । आफ्नै नेतृत्वमा रहेको सरकारमा सहभागी कांग्रेसकै मन्त्रीहरुले मुख्यमन्त्रीको कार्यसम्पादनमा औंला उठाए ।
उनले गर्ने निर्णय, कार्यशैली र गुटगत भेदभाव भएको भन्दै ४ मन्त्रीको राजीनामाबाट कांग्रेस बागमती संसदीय दलको द्धन्द्ध सुरु भयो । राजीनामा दिएलगत्तै मन्त्रीहरुले इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउनपर्ने माग सहित दलका नेता लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । अविश्वास प्रस्ताव बहुमतले पारित भयो ।
दलको नेताको पद रिक्त रहेपछि बुधबार बागमती प्रदेश सभा भवन परिसरमा कांग्रेस संसदीय दलका नेताको लागि चुनाव भयो । जसमा लामा ८ मतान्तरले पराजित भए । प्रदेशको राजनीतिमा नयाँ ट्वीष्ट आउने कारण बनेका छन् मुख्यमन्त्री लामा । दलको नेताबाट पराजित भएपनि मुख्यमन्त्रीबाट भने राजीनामा नदिने उनको अडान कायमै छ ।
त्यसो त, आफ्नै दलभित्र अन्तरद्धन्द्ध निकालेर भैरहेका संसदीय नेतालाई पदमुक्त गर्ने प्रमुख योजनाकार नै इन्द्र बानियाँ हुन् । यसअघि २०७९ पुस १३ मा भएको संसदीय निर्वाचनमा लामासँग ५ मतले हार व्यहोरेका बानियाँलाई त्यो चोट मेटाउनु थियो । जसको सही समय र कारण बन्यो प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट ।
सोही विषयलाई प्राथमिकतामा राखेर लबिइङ सुरु गरे । जसमा सफलता हाँसिल गरेपछि उनले लोकतान्त्रिक अभ्यासको पालना गरेको र कांग्रेसभित्र यस्तो विषयमा छुट रहेको प्रतिक्रिया दिए ।
त्यसो त, अब आफू दलको नेता निर्वाचित भएपछि मुख्यमन्त्री लामाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । यदी नैतिकताको आधारमा राजीनामा नदिए त्यसका लागि पनि लोकतान्त्रिक अभ्यासको प्रयोग गर्ने बानियाँ बताउँछन् ।
प्रदेशको मुख्यमन्त्री सम्हाल्ने लक्ष्य सहित आफ्नै संसदीय दलभित्र राजनीतिक खेल खेलेका बानियाँलाई सहजै लामाले राजीनामा दिएर ठाउँ खाली गर्ने सम्भावना देखिदैँन । आफ्नै दलबाट अविश्वासमा परेका लामाले बानियाँलाई टक्कर दिन आजै बिहान मात्रै तीन मन्त्री समेत नियुक्त गरिदिए । यस्ता उदाहरणहरुले पनि लामा–बानियाँको टक्करमा नयाँ ट्वीस्ट आउन सक्ने राजनीतिज्ञहरु बताउँछन् ।