काठमाडौं । बिचौलिया ईनम सापकोटाको मोबाइलबाट सर्वोच्च अदालतका न्यायाधीशदेखि सांसद र उच्च प्रहरी अधिकारीसम्मको नाम जोडिएका विवरण सार्वजनिक भएका छन् । न्यायाधीश हरिप्रसाद फुयालसँग मुद्दाबारे भएको संवाद बाहिरिएपछि न्यायालयमा तरंग पैदा भएको छ । यसै प्रकरणमा नाम मुछिएपनि प्रधानन्यायाधीश मनोजकुमार शर्माले भने सापकोटासँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।
न्यायालयका बहालवाला न्यायाधीश र उच्चपदस्थ व्यक्तिहरूसँग बिचौलिया ईनम सापकोटाको सम्बन्ध तथा कारोबार देखिने विवरण सार्वजनिक भएपछि न्यायिक वृत्तमा भूइचालो गएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग विचाराधीन मुद्दाबारे भएको ह्वाट्सएप संवाद सार्वजनिक भएको छ भने प्रधानन्यायाधीश मनोजकुमार शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको नामसमेत रकम जम्मा गर्नुपर्ने विवरणमा उल्लेख छ । तर प्रधानन्यायाधीश शर्माले सापकोटासँग कुनै सम्बन्ध नरहेको दाबी गर्दै समाचारलाई आधारहीन बताएका छन् ।
नयाँ पत्रिका दैनिकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार न्यायाधीश फुयाल र सापकोटाबीच सर्वोच्च अदालतमा विचाराधीन रोहित गुप्तासम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदनबारे कुराकानी भएको देखिन्छ । सापकोटाले निवेदनको स्क्रिनसट पठाउँदै ‘यसलाई रोक्नु है हजुर, यसमा प्रधानमन्त्रीको पनि चासो छ, खारेज नै गरिदिनु होला’ भन्दै सन्देश पठाएका थिए ।
त्यसपछि उनले फुयाललाई ह्वाट्सएपमा फोनसमेत गरेका थिए । फोन उठ्न नसकेपछि फुयालले जवाफमा गुप्तालाई छाड्नुपर्ने आधार रहेको र दुई करोड रुपैयाँ धरौटी मागिएको उल्लेख गरेका थिए । उनले व्यवसायी शेखर गोल्छासँग सम्बन्धित अर्को प्रसंगमा एक करोड रुपैयाँ धरौटी मागिएको सन्देशसमेत पठाएका थिए । गुप्तालाई धरौटीमा छाड्ने आदेशको लिंक पठाएका फुयालले भोलिपल्ट हिमालयन होटलमा भेट्ने प्रस्तावसमेत गरेको सार्वजनिक संवादमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण विभागले दीपक भट्ट समूहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले साउन २८ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चका न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भदौ १७ गते विशेष अदालतको निर्णय उल्ट्याउँदै गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । विवरण सार्वजनिक भएपछि सर्वोच्चका एक न्यायाधीशले सापकोटाले भनेअनुसार रिट खारेज नभएको र दुई करोड धरौटी मागिएको आधारमा प्रस्तावअनुसार काम भएको नदेखिने बताएका छन् । तर विवादास्पद व्यक्तिसँग न्यायाधीशको संवाद हुनु आफैँमा प्रश्न उठाउने विषय भएको उनको भनाइ छ ।
यसैबीच सामाजिक सञ्जालमा सार्वजनिक अर्को विवरणमा प्रधानन्यायाधीश शर्मा, रास्वपा सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको नाममा रकम जम्मा गर्नुपर्ने उल्लेख छ । जनवरी, नोभेम्बर र डिसेम्बरका कारोबारसँग सम्बन्धित विवरणमा कुल एक लाख ९८ हजार ३३३ रकम उल्लेख गरिएको छ । उक्त सन्देशमा अमेरिकास्थित बैंक अफ अमेरिकामा सापकोटाका आफन्त नीराजन पाण्डेको नाममा रहेको खातामा रकम जम्मा गर्न भनिएको देखिन्छ । नेपालमा रकम जम्मा गर्नुपरे सापकोटाकी श्रीमती कविता पाण्डेको सानिमा बैंकको खाता प्रयोग गर्न सकिने विकल्पसमेत उल्लेख छ । सन्देशमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबको सरकारी छापसमेत देखिएको बताइएको छ ।
एआईजी दाहाललाई भने सापकोटासँग सूचना आदानप्रदान गरेको आरोपमा सरकारले बर्खास्त गरिसकेको छ । विवादमा नाम जोडिएका न्यायाधीशहरूबाट सार्वजनिक विवरणबारे विस्तृत प्रतिक्रिया आएको छैन । प्रधानन्यायाधीश शर्माले भने बिहीबार विज्ञप्ति जारी गर्दै सापकोटासँग प्रत्यक्ष वा परोक्ष चिनजान, सम्पर्क र भेटघाटसमेत नरहेको दाबी गरेका छन् । उनले विवरणमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरीमा आफू प्रधानन्यायाधीशसमेत नभइसकेको उल्लेख गर्दै समाचारलाई आधारहीन र भ्रम फैलाउने उद्देश्यले प्रकाशित गरिएको बताएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले असोज ११ गते नियन्त्रणमा लिएपछि न्यायालयसँग सम्बन्धित विवादहरू सार्वजनिक भइरहेका छन् । सोही दिन बिचौलिया सापकोटा पनि पक्राउ परेका थिए ।
दीपक भट्ट र सुलभ अग्रवालसम्म उनको सम्पर्क देखिएको तथा उनी भारत जान लागेको अवस्थामा सापकोटा पक्राउ परेका थिए । सापकोटाको मोबाइलबाट उच्च प्रहरी अधिकारी, न्यायाधीश, पूर्वन्यायाधीश, राजनीतिक व्यक्तित्व र कानुन व्यवसायीसँग भएका संवाद भेटिएको बताइएको छ । प्रहरीले ती सम्पर्क र कारोबारको वास्तविकता पत्ता लगाउन अनुसन्धान अघि बढाइरहेको छ ।


