News 24 Television
सुरु भयो नेपालमा ‘अर्नव’ चक्रवातको प्रभाव, कहाँ–कहाँ हुनेछ भारी वर्षा ?

काठमाडौं । चक्रवाती आँधी अर्नव’को प्रभावले नेपालमा भारी वर्षा, तीव्र हावाहुरी र हिमपातको जोखिम बढेको छ । शुक्रबार र शनिबार कोशीदेखि लुम्बिनीसम्मका प्रदेश प्रभावित हुने अनुमान छ । हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको खतरा छ । सरकारले रेड अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरेको छ । 

बङ्गालको खाडीमा विकसित भएको अर्नव चक्रवात नेपालमा प्रवेश गरेको छ । छिमेकी देश भारतको आन्ध्र प्रदेशमा कम्तिमा ५ जनाको ज्यान लिइसकेको र सात सयभन्दा बढी गाउँहरूलाई प्रभावित बनाएको यो शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्ने देखिएको छ ।  

जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते बिहीबारदेखि नै देशैभर भीषण हावाहुरी, भारि वर्षा र हिमाली क्षेत्रमा हिमआँधी आउने चेतावनी दिएको छ । विपद् व्यवस्थापन प्राधिकरणले मुलुकभर रेड अलर्ट घोषणा गर्दै ८ बुँदे आकस्मिक निर्देशन समेत जारी गरेको छ । 

बङ्गालको खाडीबाट उत्तरपश्चिम दिशातर्फ अघि बढेको चक्रवात ‘अर्नव’ भारतको विशाखापट्टनम र यानम नजिकैको तटीय क्षेत्रमा ठोकिएको थियो । यसको सोझो प्रभाव नेपालमा आजैदेखि देखिन थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा यसले वितण्डा मच्चाउन सक्ने आकलन गरिएको छ ।

कात्तिक १३ र १४ गते देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र तीव्र गतिको हावाहुरीसहित भारी वर्षा हुनेछ । यतिबेला किसानहरू वर्षभरिको दुःख धानबाली भित्र्याउने तर्खरमा छन् । तर, महाशाखाले यो प्रतिकूल मौसमका कारण धानबालीमा असर गर्ने र एनपिएलका खेलहरु प्रभावित हुने समेत जनाएको छ । 

अर्नवको खतरा तराई र पहाडमा मात्रै सीमित छैन । कर्णाली र सुदूरपश्चिममा समेत भारी वर्षाको प्रक्षेपण भइरहँदा, देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने चक्रवातले अझ बढि असर गर्ने देखिएको छ । 

महाशाखाका अनुसार हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम छ । ट्रेकिङमा रहेका वा निस्कने तयारीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमको पूर्ण जानकारी नलिई अघि नबढ्न चेतावनी दिइएको छ । चक्रवात ‘अर्नव’ कमजोर बन्दै गएपनि जोखिम कायम रहेकोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशैभर पूर्वतयारी तीव्र पारेको छ । 

प्राधिकरणले ८ बुँदे विशेष अलर्ट जारी गर्दै वर्षा र हिमपातका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध हुन सक्ने, बाढी र पहिरोले बस्तीहरू जोखिममा पर्न सक्ने र हवाई यातायात पूर्ण रूपमा ठप्प हुन सक्ने चेतावनी दिएको छ । 

सरकारको तयारी 

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यान दिँदै सरकारले सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । 

नेपालमा आँधी कमजोर हुने अनुमान भए पनि वर्षा, हिमपात र हावाहुरीको जोखिम कायमै रहेकाले सुरक्षा निकायले माइकिङमार्फत सचेतना फैलाएका छन् । पर्यटनसम्बन्धी निकायले पदयात्रा र पर्वतारोहणअघि मौसम बुझ्न आग्रह गरेका छन् । हवाई उड्डयन प्राधिकरणले पनि उडान सुरक्षाको तयारी गरेको छ ।

सरकारले अफवाहमा विश्वास नगर्न र आधिकारिक सूचनाका आधारमा सुरक्षित रहन सर्वसाधारणलाई अपिल गरेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update