
जननीको वात्सल्यताका अभावमा स्नेहभरिएको उनको काखको अभावमा
बित्यो मेरो बाल्यकाल
टुहुरो मन रित्तै–रित्तै,
अभावको घरमा हुर्किएँ
बोकेर अश्रुमिश्रित सपना ।
भोको पेटले गीत गाए
रातको अँध्यारोमा,
तर बुबाको माया पाएँँ,
भगवानको स्वरूपमा ।
समाई कर्मको हलो, पसिना झार्दै
जमिनभरि विश्वासको बीउ छर्दै,
उज्ज्वल भविष्यको कामना
बोकेर स्वप्निल संसार ।
बाल–सुख बिर्सेर,
दुःखको पहाड चढ्दै
सुखद् भविष्यको कल्पनामा,
परिवारका कनिष्टहरूको
हात, खुट्टा र नयन बनेर ।
कष्टकर त्यो बालपन,
पाठशाला बन्यो धैर्यताको,
आशा, विश्वास र संघर्षले,
ढोका खोल्यो विजयको ।
आज
सञ्चारको उज्यालो,
चेतनाको हात समाई
देशको चौथो अङ्ग बनेर,
जनताको आवाज बन्न पाएँ ।
गर्व छ यस यात्रामा
गर्व छ यस पेशामा
अज्ञानताको अँध्यारोमा–
सूचना र चेतनाको ज्योति बोकेर,
उभिन पाएकोमा गर्व छ !
रातपछिको मिर्मिर बिहानी बनेर
सम्भावनाका सूक्ष्म त्यान्द्रो समाएर
जीउन सिकाउने गुरु–
बुबा तिमी जीवित भगवान !
आज म जे छु,
तिम्रै प्रेरणा र मार्गदर्शको परिणाम्...
तिमीलाई लाखौंलाख नमन,
थाहा पाएँ–
कर्म र सङ्घर्षको अविराम यात्रामा
लेखिँदो रहेछ जीवन ।।